क्वालालम्पुर, क्वालालम्पुरस्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ लाई सप्ताहव्यापी कार्यक्रमका साथ मनाउन सुरु गरेको छ। “श्रम आप्रवासन चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन” भन्ने राष्ट्रिय मूल नारासहित कार्यक्रम सञ्चालन गरिएको हो।
यसै अवसरमा मिति २०८२/०९/०३ (१८ डिसेम्बर २०२५) का दिन दूतावासमा सेवा लिन आएका पहिलो पाँच जना नेपाली श्रमिकलाई विशेष सम्मान गरिएको छ। सम्मानित हुनेमा विनोद चौधरी, जितेन्द्र चौधरी, ज्वाहरलाल राउत कुर्मी, राजाराम केवत र पञ्च सदाय रहेका छन्। उनीहरूलाई खादा ओढाएर सम्मान गर्दै दूतावासले आप्रवासी श्रमिकप्रति सम्मान र कदर व्यक्त गरेको जनाएको छ।
दूतावासका अनुसार सप्ताहव्यापी कार्यक्रममार्फत वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको अधिकार, सुरक्षा, मर्यादा र सीप अभिवृद्धिसम्बन्धी विषयमा सचेतना फैलाउने उद्देश्य राखिएको छ। साथै सुरक्षित र व्यवस्थित श्रम आप्रवासन प्रवर्द्धनमा सरोकारवालाको भूमिका थप मजबुत बनाउने लक्ष्य पनि रहेको दूतावासले जनाएको छ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजना गरिने विभिन्न गतिविधिले मलेसियामा कार्यरत नेपाली समुदायबीच सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।











