मलेसियामा तामाङ र शेर्पा समुदायको संयुक्त ल्होछार कार्यक्रम आयोजना हुँदै

everest kitchen

क्वालालम्पुर ।

मलेसियामा रहेका तामाङ समुदायले मनाईने सोनाम ल्होछार र शेर्पा समुदायले मनाईने घ्याल्बो ल्होछार यस वर्ष संयुक्त रूपमा ल्होछार कार्यक्रम आयोजना गर्ने भएका छन्। प्रवासमा रहेर पनि मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दुवै समुदायबीच आपसी सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो।

आयोजक समितिका अनुसार ल्होछार पर्व कुनै एक समुदायको मात्र नभई सम्पूर्ण ल्होछार मनाउने बौद्व मार्गी समुदायको साझा चाड भएकाले यसलाई संयुक्त रूपमा मनाउने निर्णय गरिएको हो। यस कार्यक्रममार्फत आपसी भाइचारा, सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।

संयुक्त ल्होछार कार्यक्रममा मौलिक सांस्कृतिक नृत्य, परम्परागत भेषभूषा प्रदर्शन, शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिने तयारी गरिएको छ। साथै प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार र संस्कृति प्रतिको अपनत्व बढाउने उद्देश्य पनि कार्यक्रमको मुख्य लक्ष्य रहेको शेर्पा संघ मलेसियाका अध्यक्ष ङावाङ नुरी शेर्पाले बताए।

आयोजकहरूले ल्होछार ‘फुटेर होइन, जुटेर मनाउनुपर्छ’ भन्ने सन्देश प्रवाह गर्दै आएका छन्। यस प्रकारको संयुक्त कार्यक्रमले मलेसियामा रहेका नेपाली समुदायबीच आपसी समझदारी र एकता अझ मजबुत बनाउने विश्वास लिइएको छ।

कार्यक्रमको मिति, स्थान तथा थप विवरण छिट्टै सार्वजनिक गरिने आयोजक समितिले जानकारी दिएको छ।