क्वालालम्पुर । मलेसियास्थित नेपाली राजदूतावासले हुन्डी कारोबार नियन्त्रण तथा निरुत्साहित गर्न सबै नेपाली समुदायलाई लक्षित गर्दै जरुरी सूचना जारी गरेको छ। दूतावासले विदेशमा रही अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) गर्ने, वा सङ्कलित रकम नेपाल नपठाउने कार्यले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी बढ्ने जोखिम रहेको उल्लेख गरेको छ।
दूतावासका अनुसार हुन्डी कारोबारसम्बन्धी प्राप्त गोप्य सूचना तथा तथ्याङ्कहरू नेपाल सरकारका सम्बन्धित निकायमा विद्युतीय माध्यमबाट नियमित रूपमा पठाइने व्यवस्था गरिएको छ। यसै सन्दर्भमा मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, ब्रुनाई दरुसलाम तथा टिमोर लेस्टेमा रहेका नेपालीहरूलाई अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्न र नगराउन आग्रह गरिएको छ।
यदि कसैले त्यस्तो गैरकानुनी काम/कारोबार गरेको जानकारी भए प्रमाणसहित नेपाली दूतावास, क्वालालम्पुरमा उपलब्ध गराई सहयोग गर्न पनि दूतावासले अनुरोध गरेको छ। हुन्डी कारोबार नियन्त्रण तथा निरुत्साहित गर्ने अभियानमा सम्पूर्ण नेपाली समुदायको सक्रिय सहयोग अपेक्षित रहेको दूतावासको भनाइ छ।
दूतावासले हुन्डी कारोबारसम्बन्धी सूचना उपलब्ध गराउने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने स्पष्ट पारेको छ।












