काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने बताए ।
जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।
उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार बदल्न बाँकी छ र त्यो क्रान्तिबाट मात्र सम्भव छ । हामीलाई विश्वास छ, हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने छ । अर्थात जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्नेछौं ।’
यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरुलाई शुभकामना व्यक्त गर्दै उनीहरुले धेरै गुण लगाएर गएको बताए ।
उनले भने, ‘यात्राका क्रममा हामीले सबैलाई समेट्न सकेनौ होला । तर उहाँहरुले हाम्रो पार्टीमा दिनु भएको योगदानको सँधै स्मरण गरिरहने छु । उहाँहरुलाई धन्यवाद दिइरहनेछु । हामीले धेरै केही गर्न सकेनौ तर उहाँहरूले धेरै गरेर जानुभएको छ । सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धीहरुमा साथ दिनुभएको छ । केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त हाम्रो मनमा छ । यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर जानु भएकाहरुलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । धेरै गुण लगाएर जानु भएको छ, ऋणि रहनेछु ।’
उनले आफूसँग एक मुठ्ठी सास र सत्यको साहस मात्रै बाँकी रहेको भन्दै सत्यको सँधै विजय हुने बताए ।
उनले भने, ‘म माथि अन्यायका श्रीखंलाहरु बाँकी नै छन् । तर मलाई विश्वास छ, आजसम्म सत्य हारेको छैन् । त्यसकारण अब पनि हार्दैन् भन्ने कुरामा विश्वास छ । त्यो विश्वासले जिल्लैपिछे मुद्दा लगाउँदा पनि छाडेको छैन्, कारागारमा लैजाँदा पनि छाडेको छैन् । यही एउटा विश्वास छ । मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो । अरु मसँग केही पनि बाँकी छैन् । तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिदो रहेनछ ।’
उनले चौतर्फि हमलाको बीचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन् ।











