नेपाल मगर संघ मलेसियाको नवौं अधिवेशनको तयारी पूरा, आमन्त्रित अतिथि मलेसियामा।

everest kitchen

क्वालालम्पुर — नेपाल मगर संघ को नवौं अधिवेशन तथा मगर दिवस कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। मगर भाषा, लिपि, धर्म, संस्कार तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा ज्ञानेन्द्र पुन मगर (सदस्य सचिव, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान तथा केन्द्रीय अध्यक्ष, नेपाल मगर संघ) सहभागी हुनेछन्। साथै चर्चित गायिका रेश्मा पुन मगर, ‘द भ्वाइस अफ नेपाल’ की प्रतियोगी नितु पुन मगर तथा चलचित्र निर्माता एवं निर्देशक हर्क आले मगर मलेसिया आइपुगेका छन्। कलाकार तथा अतिथिहरूलाई स्वागत गर्न संघका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

कार्यक्रममा स्थानीय कलाकारहरूको समेत विशेष सांस्कृतिक प्रस्तुति रहनेछ। आयोजकले प्रवासमा रहेका मगर समुदायबीच एकता, पहिचान र सांस्कृतिक संरक्षणलाई अझ सुदृढ बनाउन अधिवेशन महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।

उक्त कार्यक्रम Wisma Eagle Eye, Jalan Tun H.S. Lee, क्वालालम्पुर मा आयोजना हुनेछ। मगर समुदायलगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।