क्वालालम्पुर, मलेसिया — मलेसियामा बसोबास गर्दै आएका नेपाली समुदायले हरेक वर्षझैँ यस वर्ष पनि विसाक डे (बुद्ध जयन्ती)भव्य रूपमा मनाउने तयारी गरेका छन्। आगामी ३१ मे २०२६, आइतबारका दिन कार्यक्रम आयोजना गरिने तयारी भइरहेको आयोजकहरूले जानकारी दिएका छन्।
यस सम्बन्धमा ९ मार्च २०२६ सोमबार मलेसियास्थित नेपाली राजदूतावासमा दूतावासका कार्यवाहक राजदूत मुदिता बज्राचार्य र प्रथम सचिव सुशील घिमिरे सहित मलेसियामा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूबीच छलफल सम्पन्न भएको थियो। उक्त छलफलमा विगतका वर्षहरूमा अपनाइँदै आएको मोडालिटीअनुसार नै यस वर्ष पनि कार्यक्रम सम्पन्न गर्ने सहमति भएको हो।
त्यसैगरी ८ मार्च २०२६ आइतबार विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको भेलाले कार्यक्रम सफल बनाउन संयोजक समिति गठन गरेको छ। समितिको संयोजकमा गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय समिति मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु चयन भएका छन् भने उअउअ-सयोजकहरुमा प्रवासी नेपाली सम्पर्क विभागका सभापति नेत्र केसी , नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व अध्यक्ष विपिन राई, महासंघका अध्यक्ष पदमराज लिम्बु, NRNA मलेसियाका पूर्व अध्यक्ष बिनोद थापा, उपाध्यक्ष टिकाराम अधिकारी लगायत मलेसियामा रहेका विभिन्न क्रियाशील संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
कार्यक्रमको आर्थिक संयोजकका रूपमा नेपाली व्यवसायी संघ क्वालालम्पुरका अध्यक्ष शिव थापा र एल.बी. मगरलाई जिम्मेवारी दिइएको छ भने पुजा व्यवस्थापनको लागी शेर्पा संघ मलेसिया र नेपाल तामाङ घेदुङ मलेसियालाई जिम्मा लगाईएको छ। त्यस्तै स्वयंसेवक संयोजकको जिम्मेवारी NRNA मलेसियाका उपाध्यक्ष दिल केरुङ लिम्बुलाई प्रदान गरिएको छ।
कार्यक्रमको प्रभावकारी प्रचार–प्रसारका लागि मलेसियामा सक्रिय पत्रकारहरू घनश्याम चौधरी, बिन्दु दर्लामी मगर, राजेन्द्र घिमिरे, भीम लोहार, पल थामी र सुमन विश्वकर्मालाई जिम्मेवारी दिइएको छ।
यस कार्यक्रमलाई अझ भव्य बनाउन नेपाली राजदूतावासमार्फत विभिन्न देशका राजदूतहरू तथा मलेसियास्थित व्यवसायीहरूलाई पनि आमन्त्रण गरिनेछ। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि सोही स्थानमा कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको जानकारी विपिन राईले दिएका छन्।
मलेसियामा रहेका नेपाली समुदायबीच एकता, सद्भाव र बौद्ध धर्मको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न हुने अपेक्षा गरिएको आयोजकहरूले बताएका छन्।













