हेटौँडामा उबर सेवा सुरु, यातायात क्षेत्रमा नयाँ विकल्प थपियो

everest kitchen

हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडामा अब डिजिटल राइड सेयरिङ सेवा उबर औपचारिक रूपमा सुरु भएको छ। यससँगै यहाँका सर्वसाधारणले सहज, सुरक्षित र प्रविधिमैत्री यातायात सेवाको नयाँ विकल्प पाएका छन्।

उबरले नेपालमा आफ्नो सेवा विस्तार गर्दै हेटौँडामा पनि सेवा उपलब्ध गराउन थालेको जनाएको छ। कम्पनीका अनुसार स्थानीय चालकहरूलाई रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्ने उद्देश्यले सेवा विस्तार गरिएको हो।

उबर प्लेटफर्ममा आबद्ध हुन इच्छुक चालकहरूले आवश्यक कागजातसहित अनलाइन दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ। यसमा चालक अनुमति पत्र, सवारी साधनको कागजातलगायत आधारभूत विवरण आवश्यक पर्ने बताइएको छ। कम्पनीले विभिन्न ‘फ्लिट पार्टनर’हरूसँग सहकार्य गर्दै चालकहरूलाई प्लेटफर्ममा आबद्ध गराउने व्यवस्था मिलाएको छ।

उबरका प्रतिनिधिहरूले हेटौँडामा सेवा विस्तारसँगै यात्रुहरूलाई सुरक्षित, भरपर्दो र सहज यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, चालकहरूको आम्दानी वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीयवासीले पनि उबर सेवाले यातायात क्षेत्रमा प्रतिस्पर्धा बढाउने र सेवा गुणस्तर सुधार हुने अपेक्षा गरेका छन्।