लन्डन, २१ असार । इङ्गल्याण्ड र वेल्समा जनसांख्यिकीय प्रवृत्तिमा उल्लेखनीय परिवर्तन देखिएको छ।
हालैका अनुमानहरूले जन्मको संख्याभन्दा मृत्युको संख्या बढी रहेको देखाएका छन्। सामाजिक मुद्दाहरूमा केन्द्रित ‘थिंक ट्याङ्क सेन्टर फर सोसल जस्टिस’ ले यस परिवर्तनलाई ‘डेथ डे’को संज्ञा दिएको छ। उक्त संस्थाका अनुसार यो केवल तथ्याङ्क मात्र नभई भविष्यमा आउन सक्ने एउटा ठूलो जनसांख्यिकीय चुनौतीको संकेत हो।
राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान अनुसार सन् २०२६ को जुलाई देखि इङ्गल्याण्ड र वेल्समा वार्षिक मृत्यु हुनेहरूको सङ्ख्या जन्मनेहरूको सङ्ख्या भन्दा बढी हुने प्रक्षेपण गरिएको छ। आर्थिक वर्ष २०२५÷२६ लाई अन्तिम वर्ष मानिएको छ, जसमा जन्मनेहरूको सङ्ख्या मृत्यु हुनेहरूको सङ्ख्याभन्दा थोरै बढी थियो। अनुमान गरिए अनुसार, सन् २०२६÷२७ को अवधिमा करिब ५ लाख ८४ हजार शिशुहरूको जन्म हुनेछ भने सोही अवधिमा करिब ५ लाख ८८ हजार मानिसहरूको मृत्यु हुन सक्नेछ।
टेलिग्राफको समाचार अनुसार यस प्रवृत्तिको मुख्य कारण निरन्तर घट्दै गएको जन्मदर हो भन्ने संकेत गरेको छ। विगतको तुलनामा अहिले दम्पतीहरू कम सन्तान जन्माउन वा परिवार सुरु गर्न ढिलाइ गर्न रुचाउँछन्। आवासको उच्च मूल्य, बालबालिका हुर्काउने बढ्दो खर्च, कार्यजीवनको दबाब र लचिलो कामको अवसरको अभावजस्ता कारकहरूले पनि यस निर्णयलाई प्रभावित गरिरहेका छन्। यसका साथै, धेरै महिलाहरू आफ्नो पेसागत जीवनमा पहिले ध्यान केन्द्रित गर्न चाहन्छन् भने विवाह गर्ने र आमा बन्ने उमेर पनि निरन्तर बढिरहेको छ।
तथ्यांक अनुसार यदि यो अवस्था कायम रहेमा आगामी वर्षहरूमा गम्भीर सामाजिक तथा आर्थिक परिणामहरू निम्तिन सक्छन्। संस्थाका अनुसन्धान निर्देशक एडवर्ड डेभिसले परिवारहरूका लागि पर्याप्त सहयोगको अभावलाई यस अवस्थाको कारण मान्छन्। उनी ठान्छन् कि बढ्दो खर्च र बदलिँदो परिस्थितिका कारण आमाबुवा बन्न चाहनेहरू पनि आफ्ना सपना साकार पार्न असमर्थ छन्।
एक प्रतिवेदनका अनुसार सन् २०२४ देखि २०३४ को अवधिमा बेलायतमा जन्मिनेहरूको तुलनामा मृत्यु हुनेहरूको संख्या करिब ४ लाख ५० हजारले बढी हुने अनुमान गरिएको छ।
यसैबीच अर्को एक विश्लेषणले १६ देखि ४५ वर्ष उमेर समूहका करिब ३० लाख महिलाहरू सन्तानविहीन रहन सक्ने देखाएको छ, यो संख्या अघिल्लो पुस्ताको तुलनामा करिब ६ लाखले बढी हो। विज्ञहरूले यस अवस्थालाई अभिभावकविहीन परिदृश्यका रूपमा व्याख्या गरेका छन्, जसमा व्यक्तिहरू परिवार बसाल्ने इच्छा हुँदाहुँदै पनि आर्थिक र सामाजिक कारणहरूले गर्दा त्यसो गर्न असमर्थ हुन्छन्।
सन् २०१० देखि बेलायतमा जन्मदर निरन्तर घटिरहेको छ। सन् २०२५ मा करिब ५ लाख ८५ हजार जन्महरू दर्ता भए, यो संख्या अघिल्लो वर्षको तुलनामा कम हुनुका साथै सन् १९७७ यताकै सबैभन्दा न्यून स्तर हो। प्रति महिला सन्तानको औसत संख्या पनि घटेर करिब १.४ मा झरेको छ, जबकि जनसंख्याको सन्तुलन कायम राख्न यो संख्या करिब २.१ हुनु आवश्यक हुन्छ। यसका साथै, पहिलो पटक आमा बन्ने महिलाहरूको औसत उमेर बढेर २९.६ वर्ष पुगेको छ।











