काठमाडौं, ३२ असार । फल्कल्यान्ड टापुमाथि आफ्नो देशको दाबीलाई समर्थन गर्ने ब्यानर बोकेर विश्वकपको सेमिफाइनलमा इङ्गल्याण्डविरुद्धको जित मनाएपछि अर्जेन्टिनाले फिफाबाट अनुशासनात्मक कारबाहीको सामना गर्नुपर्ने अवस्था आएको छ। यसअघि पनि फकल्याण्डको प्रतिक प्रदर्शन गरे पछि २० हजार पाउन्ड जरिवाना गराइएको थियो ।
साविक विश्व विजेता टोलीले एटलान्टामा खेलको अन्त्यतिर नाटकीय पुनरागमन गर्दै दुई गोल गर्यो र थोमस टुचेलको टोलीलाई २–१ ले पराजित गर्दै आइतबार हुने फाइनलमा स्पेनसँगको भिडन्त पक्का गर्यो। खेल सकिएपछि अर्जेन्टिनाका खेलाडीहरूले ‘फल्कल्यान्ड अर्जेन्टिनाको हो’ भन्ने लेखिएको ब्यानर बोकेर खुसी मनाए।
दक्षिण पश्चिम एट्लान्टिक महासागरमा अवस्थित बेलायती विदेशी भू–भाग (ओभरसिज टेरिटोरी) फल्कल्यान्ड टापु, बेलायत र अर्जेन्टिनाबीच सार्वभौमिकताको विवादको विषय बनिरहेको छ । अर्जेन्टिनाको पूर्वी तटबाट ३०० माइल टाढा अवस्थित यी टापुहरूका लागि सन् १९८२ को अप्रिलदेखि जुन महिनासम्म यी दुई राष्ट्रबीच युद्ध भएको थियो। ७४ दिनसम्म चलेको उक्त द्वन्द्वमा ६५५ अर्जेन्टिनी र २५५ बेलायती सैनिकहरूको ज्यान गएको थियो। साथै, ती टापुका तीन जनाको पनि मृत्यु भएको थियो।
सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेल अघि खेलाडीहरूले सोही सन्देशसहितको ब्यानर प्रदर्शन गरेपछि फिफाले अर्जेन्टिनी फुटबल संघलाई २० हजार पाउण्ड जरिवाना गरेको थियो। र, त्यो बेला विश्व फुटबलको सर्वोच्च निकायले उक्त कार्य राजनीतिक गतिविधि र टोलीको दुर्व्यवहारसम्बन्धी नियमहरूको उल्लंघन भएको जनाएको थियो।
बुधबारको जित पछि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिलारुएलले ‘एक्स’मा अर्जेन्टिनी सैनिकजस्ता देखिने व्यक्तिहरूको भिडियोसहित ‘यो केवल अर्को एउटा खेल मात्र थिएन’ भनी लेखिकी छिन्। ‘फकल्यान्ड्स अर्जेन्टिनाको हो,’ भिलारुएलले पोस्ट गर्दै लेखिन, ‘उनीहरूले यसलाई (फकल्यान्ड्सको झण्डा वा प्रतीकलाई) रंगशालामा ल्याउन प्रतिबन्ध लगाए, तर हामीले यसलाई आफ्नो रगत र मुटुमा बोकेका छौं भन्ने कुरा बिर्सिए।’ खेल अघि भिलारुएलले सेमिफाइनल भनेको ‘आक्रमणकारीहरूलाई उनीहरूको ठाउँ देखाउने’ अवसर भएको बताएकी थिइन्।
उता, बेलायतका व्यापार तथा वाणिज्य मन्त्री (सेक्रेटरी अफ स्टेट) तथा सांसद पिटर काइलले अर्जेन्टिनाको ब्यानर ‘पूर्ण रूपमा अनुपयुक्त’ भएको बताए र फिफाले यस विषयमा विस्तृत अनुसन्धान गर्ने अपेक्षा व्यक्त गरेका छन्। ‘मलाई लाग्छ, अनुसन्धाने पक्कै हुनेछ किनभने फुटबलमा राजनीतिक गतिविधि समावेश नगर्ने नियमको यो निकै गम्भीर उल्लंघन थियो,’ काइलले बीबीसी ब्रेकफास्टलाई बताए।
अन्तिम १६ को चरणमा इजिप्टमाथि ३–२ को नाटकीय जित हासिल गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड्स तथा अर्जेन्टिनाका महान् खेलाडीहरू डिएगो म्याराडोना र लियोनेल मेस्सीको नाम लिँदै नारा पनि लगाएका थिए। यद्यपि, सेमिफाइनलअघि प्रशिक्षक लियोनेल स्कालोनीले आफूले फुटबल र राजनीतिलाई ‘मिश्रण नगर्ने’ बताएका थिए।
‘वास्तविकता के हो भने यो एउटा फुटबल खेल हो। म कुराहरूलाई मिसाउन सक्दिनँ, विशेष गरी धेरै वर्षअघि जे भएको थियो त्यसको सम्मान गर्दै’ स्कालोनीले भनेका थिए, ‘त्यो हाम्रो इतिहासको निकै दुःखद कालखण्ड थियो र हामीले त्यसका बारेमा धेरै गर्न सक्ने केही छैन, वास्तविकता यही हो।’
‘विश्वका अन्य ठाउँमा पनि घटनाहरू भइरहेका छन्, र हामी युद्धको अस्तित्वको आलोचना गर्छौं। हामी पक्कै पनि ती मानिसहरूलाई सम्झन्छौं। तर यो फुटबल खेल हो, हामीले यी दुई कुरालाई एकअर्कासँग जोडेर भ्रममा पर्नु हुँदैन।’
दुई राष्ट्रबीचको ऐतिहासिक तनावका कारण कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त सेमिफाइनल खेलमा इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले खेलको अन्त्यतिर गरेको गोलका कारण इङ्ल्यान्ड पराजित भयो।











