मुम्बई, ५ साउन । बलिउड अभिनेता सलमान खानलाई ठूलो पर्दामा हेर्न प्रशंसकहरू आतुर रहेका छन्। उनको चलचित्र ‘मातृभूमि’, जुन फिल्म सुरुमा अप्रिल २०२६ मा प्रदर्शन हुने तय भएको थियो तर त्यो स्थगित गरिए पछि प्रतीक्षा अझ लम्बिएन पुगेको छ। त्यसपछि सो चलचित्र अगस्ट २०२६ मा प्रदर्शन हुन सक्ने खबरहरू बाहिर आएका छन्।
यस अघि दर्शकहरूले सन् २०२७ मा मात्रै अब सलमान खानको चलचित्र ‘मातृभूमि’ हेर्न पाउने खबर बाहिरिएको थियो। तर, अब चलचित्र निर्माताहरूले यस सम्बन्धी एउटा महत्त्वपूर्ण जानकारी दिएका छन्, एउटा नयाँ पोस्टर सार्वजनिक गर्दै उनीहरूले ‘मातृभूमि’ सन् २०२६ मा नै हलहरूमा प्रदर्शन हुने घोषणा गरेका छन्। हाल यसको प्रदर्शनको निश्चित मिति तय गर्ने काम भइरहेको छ।
‘मातृभूमि’ को निर्देशन अपूर्व लाखियाले गरिरहेका छन् र यसको निर्माण सलमान खानको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’को ब्यानरमा भइरहेको छ। सोमबार अबेर सलमान खान फिल्म्सले सामाजिक सञ्जाल ‘एक्स’ मा एउटा नयाँ पोस्टर सार्वजनिक गर्यो, जसमा सलमान र चित्रांगदा सिंहबीचको रोमान्टिक क्षण देखाइएको छ। पोस्टरमा सन् २०२६ उल्लेख गरिएको छ, जसले यो चलचित्र सोही वर्ष प्रदर्शनमा आउने संकेत गर्छ। पोस्टरको साथमा यस्तो क्याप्सन राखिएको छ, ‘एक सैनिकको वाचा। एक परिवारको शक्ति। राष्ट्रको गौरव।’
यसैबीच, बलिउड हंगामाले व्यापारिक स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार चलचित्र निर्माताहरू प्रदर्शनका लागि नयाँ मिति खोजी गरिरहेका छन्। यद्यपि, प्रदर्शनका लागि उपयुक्त मानिने मुख्य मितिहरू पहिले नै तय भइसकेका छन् र सलमान खान आफ्नो चलचित्र अन्य कुनै चलचित्रसँग जुधोस् भन्ने चाहँदैनन्। यदि त्यस्तो परिस्थिति आइ परेमा पनि प्रदर्शन मिति घोषणा गर्नु अघि उनले सम्बन्धित पक्षसँग परामर्श गर्ने र जानकारी गराउने छन्।
यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने ‘मातृभूमि’ सन् २०२० मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकहरूबीच भएको झडपमा आधारित छ। यस चलचित्रमा सलमानले कर्णेल सन्तोष बाबुको भूमिका निभाएका छन्। अभिनेत्री चित्रांगदा सिंहसँग उनको अन स्क्रिन जोडी बनेको यो पहिलो चलचित्र हो। यस चलचित्रको सुरुवाती नाम ‘ब्याटल अफ गलवान’ राखिएको थियो, जुन पछि परिवर्तन गरिएको थियो ।
चीनियाँ सेनाको आपत्ति तथा भारतीय सेन्सर बोर्डले धेरै कैचीँ लगाए पछि यो फिल्म प्रदर्शन अन्यौंलमा परेको थियो । यो फिल्ममा नेपाली अभिनेता अनुपबिक्रमले पनि अभिनय गरेका छन ।











