फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने

everest kitchen

काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ ।

फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ ।

प्रतियोगितामा शारीरिक र डिजिटल दुबै किसिमको आयोजना हुनेछ । जसमा ५० प्रतिशत शारीरिक गतिविधि र ५० प्रतिशत डिजिटल हुनेछ ।

प्रतियोगितामा फुटबल, बास्केटबल र हक्की जस्ता परम्परागत खेलहरू हुनेछन् । नेपालबाट यो खेलहरुमा सहभागी जनाउन पाउनेछ । त्यस्तै पबजी, फ्री फायर, डोटा २ र लिग अफ लेजेन्ड्स जस्ता ई–स्पोर्ट्स गेमहरू प्रस्तुत गरिनेछ ।

प्रतियोगिताअन्तर्गत फुटबल, बास्केटबल, हक्की र दौड प्रतिस्पर्धामा प्रत्येक खेलमा पुरस्कार राशी १० लाख डलर समावेश छ । यस्तै, डोटा दुई र लिग अफ लिजेन्ड्स जस्ता ई–स्पोट्र्स खेलहरूमा प्रत्येक खेलमा ३० लाख डलरको पुरस्कार राशी छ ।

ट्याक्टिकल ब्याटल ५५ सीएसजीओ, ट्याक्टिकल ब्याटल ५५ भ्यालोरन्ट र ड्रोन बीट सेबरको पुरस्कार क्रमशः ३० लाख, २० लाख र पाँच लाख डलर छ । फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ मा छनोट हुने खेलाडीको पनि सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्ने छ ।

प्रतियोगिताका लागि जुनमा हुने छनोटमा सहभागी खेलाडीमध्ये योग्य खेलाडीहरूलाई छनोट गरिने प्रतियोगिताको लागि नेपालको संयोजन गरिरहेका अबिन कार्कीले बताए ।

कार्कीका अनुसार छनोट प्रतियोगितामा सहभागी हुनका लागि ‘फिजिटल गेम अफ फ्युचर’ को वेबसाइटमार्फत आवेदन दिन सकिने र छनोट प्रतियोगितामा खर्च आयोजकले नै व्यहोर्नेछ । रुसमै हुने छनोटका लागि मेको अन्तिमसम्म आवेदन दिन सकिने कार्कीले बताए ।