मेथिनकोटमा डायलायसिस सेवा सुरु

everest kitchen

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेमा रहेको मेथिनकोट अस्पतालमा मिर्गौला रोगीको उपचारका लागि डायलायसिस सेवा सुरु गरिएको छ ।

हाल पाँचवटा अत्याधुनिक मेसिनबाट डायलायसिस सेवा सुरु गरिएको अस्पतालमा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित आसपासका जिल्लाका नागरिक लाभान्वित हुने जनाइएको छ ।

काठमाडौँका अस्पतालमा डायलायसिस गर्न नपाएर बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्यका लागि मेथिनकोट अस्पतालले सुरु गरिएको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले अस्पताल अवलोकनका क्रममा बर्ता । उनका अनुसार अब काठमाडौँका सुविधासम्पन्न अस्पतालले उपलब्ध गराउने सेवा मेथिनकोट अस्पतालले दिने छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले अस्पताललाई ट्रमा सेन्टर र डायलायसिस सेवाको उत्कृष्ट अस्पतालका रूपमा विकसित गर्ने योजना बनाएको बताए । “यसका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ”, उनले भने। तीन तहका सरकारको समन्वयका कारण अस्पतालमा सेवा विस्तार गर्दै लगिएको मेथिनकोटका नगरप्रमुख कुन्साङ लामाले बताए । प्राथमिक स्वास्थ्य केन्द्रबाट सेवा विस्तार गर्दै प्रदेशस्तरीय अस्पताल बनाइएकामा स्थानीय निकै खुसी देखिएको लामाको भनाइ छ ।

अस्पताललाई बागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशालाबाट अन्य आवश्यक उपकरण सहयोग गरिएको थियो । अस्पतालमा हाल सेवा विस्तार भएसँगै बिरामीको चाप बढ्दै गएको बताइन्छ । अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको छ । अस्पतालमा हृदयघातका बिरामीका लागि पहिलो चरणको खोप निःशुल्क उपलब्ध गराइएको छ भने मानसिक रोगको उपचार, डायलायसिस सेवा, हाडजोर्नी, बाल विशेषज्ञ, सम्पूर्ण ल्याब सेवा, रेबिज खोपलगायत नेपाल सरकारले तोकेको दुई सय ५० थरिका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

यसैबीच बनेपा नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको समन्वयमा बनेपाका ६९ विद्यालयमा अध्ययनरत २३ हजार तीन सय ८२ विद्यार्थीको निःशुल्क आँखा परीक्षण अभियान थालिएको छ । वडा नं ६ स्थित भक्तेश्वर माध्यमिक विद्यालयबाट आँखा परीक्षणको औपचारिक सुरुआत गरिएको हो । अस्पतालले केही समयअघि शिक्षकलाई आँखासम्बन्धी तालिम दिँदा विद्यार्थीले अध्ययन गर्न नसक्नुमा आँखाको भिजन प्रमुख कारण भएको जानकारी भएपछि अभियान नै थालिएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए ।

उनका अनुसार प्रारम्भिक सूचनाका आधारमा आँखाको भिजन १० देखि १५ प्रतिशत विद्यार्थीमा कम भएको पाइएपछि नगरभित्रका सबै विद्यार्थीको एकैपटक आँखा परीक्षण गरी देखिएको समस्याको उपचार गराइने छ । “स्थानीय नागरिकका लागि आधारभूत स्वास्थ्य उपलब्ध गराउने नगरको दायित्व हो, आँखालगायत नसर्ने रोग नियन्त्रण र त्यसको परीक्षण तथा पहिचान गरी उपचार गर्ने गरी अभियान सुरु गरेका हौँ”, शाक्यले भने ।

नगरका बालबालिका, महिला र ज्येष्ठ नागरिकका अलावा नगरभित्रका विपन्न समुदायका नागरिकलाई सरल र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरले आधारभूत अस्पताल, स्वास्थ्य चौकीको स्तरोन्नति तथा सुविधासम्पन्न बनाउँदै लगिएको नगर उपप्रमुख विमला सापकोटाले बताइन् । अस्पतालका अध्यक्ष मधु आचार्यले नगरसँगको समन्वयमा बनेपा नगरभित्रका सबै बालबालिकाको आँखा परीक्षण गर्न पाएकामा खुसी व्यक्त गरे । उनका अनुसार अभियानअन्तर्गत आँखा परीक्षणसँगै तत्कालै आवश्यक पर्ने औषधि निःशुल्क उपलब्ध गराइएको छ भने बालबालिकामा थप सङ्क्रमण वा समस्या देखिएमा अस्पताल पुर्याई निःशुल्क सेवा उपलब्ध गराइने छ । रासस