हात्ती रोक्न बाहुनडाँगीमा व्यावसायिक कागतीखेती

everest kitchen

झापा । दैनिक हुल बाँधेर आउने जङ्गली हात्तीले धानबाली नष्ट गर्न थालेपछि बैकल्पिक खेतीका कागती खेती सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।

कम लगानी गर्दा पनि बढी आम्दानी हुने र हात्तीले नष्ट नगर्ने हुँदा कागती खेतीतर्फ किसान आकर्षित भएको हुन् । बाहुनडाँगीमा पाँच कठ्ठादेखि तीन विगाह क्षेत्रफलमा धानको साटो व्यावसायिक कागतीखेती भइरहेको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

उनका अनुसार वडा नम्बर ४ मात्र व्यावसायिक रुपमा कागतीखेती गर्ने किसान २५ भन्दा बढी छन् । उनले विगत चार वर्षअघि किसानलाई निःशुल्करुपमा कागतीको बिरुवा नै वितरण गरिरहेको बताए ।

“आठ वर्षअघि विश्व बैंकको लगानीमा हात्ती रोक्ने विद्युतीय घेराबारा १२ किलोमिटर गर्ने र १२ किलोमिटर कागती रोपेर जैविक फेन्सिङ गर्ने भन्ने योजना थियो”, उनले भने, “तर बैंकसँग कागती रोप्नेभन्दा ढुङ्गामुढा लगाउन सस्तो पर्ने भएपछि कागती खेती भएन ।”

वडा नम्बर ४ मगरडाँडाका सन्तोष अधिकारीले कागती बेचेर बार्षिक रु २५ लाख आम्दानी गरेको बताए । उनले धानखेतीबाट भन्दा कागती खेतीबाट प्रतिविघा रु पाँच लाख बढी नाफा भएको बताए । उनले चार वर्षअघि दुई विघा जमिनमा धानको साटो कागतीखेती सुरु गरेका हुन् ।

बिरुवा लगाएको तीन वर्षदेखि कागतीले आम्दानी दिन सुरु गरेको उनले बताए । उनले बाह्रै महिना फल्ने सुनकागतीको खेती गरेका छन् । कागती किन्नका लागि विर्तामोड, धुलाबारी, काँकरभिट्टाका व्यापारीहरु घरमै आउने गरेको उनको भनाइ छ । बगानमै प्रतिकेजी रु ७५ ले कागती बिक्री हुँदै आएको उनले जानकारी दिए ।

“धान तथा मकै बाली भित्र्याउन हात्तीले दिँदैनथ्यो”, उनले भने, “तर कागती खेतीमा भने समस्या छैन ।” उनले हाल स्थानीय छ जनालाई रोजगारी दिइरहेका छन् । राम्रोसँग गोडमेल, समयमै मल, पानी गरेर स्याहार गर्न सके प्रतिबोटमा छ हजार दानासम्म फलाउन सकिने उनको अनुभव छ ।रासस