१२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’ एउटा मुद्दा

everest kitchen

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ । न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ ।

सरकारले २०६८ साल असोज ३० गते सर्वोच्चमा दिनेशनाथ चालिसेसहित नौ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन दर्ता गरेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दर्ता भएको थियो । जुन मुद्दा प्रायः हेर्न नमिल्नेमै पर्ने गरेको छ ।

२०७९ साउन २४ गते मिसिल कागज झिकाउने आदेश भएको थियो । त्यसपछि एक पटक हेर्न नभ्याइने र तीन पटकसम्म हेर्न नमिल्नेमा परेको छ । त्यसै मुद्दामा प्रतिवादी चालिसेको तर्फबाट कानुन व्यवसायीका रूपमा हरिकृष्ण कार्कीले समेत बहस गरेका थिए । त्यसपछि कार्की सर्वोच्चमा न्यायाधीश नियुक्ति भई प्रधानन्यायाधीशको जिम्मेवारी लिएर सेवानिवृत्त भइसकेका छन् । तर सर्वोच्चमा अहिलेसम्म मुद्दाको टुंगो लाग्न सकेको छैन ।

पुराना भ्रष्टाचारका अरू पनि मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छन् । पाँच वर्ष नाघेका चार हजार बढी मुद्दा सर्वोच्चमा विचाराधीन छन् । त्यसमा १७ वर्ष पुराना भ्रष्टाचारका मुद्दा पनि फैसला हुन बाँकी छन् । पूर्वमन्त्री गोविन्द जोशीलगायतका पुराना भ्रष्टाचारका मुद्दामा फैसला हुन सकेको छैन ।

सर्वोच्चमा पुनरावेदन दर्ता भइसकेपछि २०६८ चैत २१ गते न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र गिरिशचन्द्र लालको संयुक्त इजलासमा पहिलो पटक पेसी चढेको थियो । पेसी चढेको सुरुवातमै पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए । त्यसपछि २०६९ जेठ १४ गते चढेको पेसीमा पनि पक्षकै कानुन व्यवसायीबाट मुद्दा स्थगित भएको थियो । त्यसपछि न्यायाधीश दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले झझि (झगडिया झिकाउने) आदेश गरेको थियो । त्यसपछि दर्जन बढी पटक पक्षकै कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन् ।

सामान्यतया कानुन व्यवसायीले तीन पटकसम्म मुद्दा स्थगित गर्ने कानुनी व्यवस्था छ । यो मुद्दामा भने १५ पटकसम्म पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन् । धेरैपटक ‘हेर्न नमिल्ने र हेर्न नभ्याइने’मा परेको यो भ्रष्टाचार मुद्दा २०७७ सालमा दुई पटक, २०७८ सालमा एक पटक र २०७९ सालमा दुई पटक र २०८० सालमा चारपटक पेसी चढेको छ । यो समाचार नागरिक दैनिकमा छ ।