भुकम्पले भवन भत्काएपछि त्रिपालबाट वडा कार्यालय सञ्चालन

everest kitchen
फोटो: त्रिपालबाट सञ्चालन गरिएको वडा कार्यालय । तस्बिर: खिमराज पुनको फेसबुकबाट

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाँउपालिका वडा नम्बर ७ को वडा कार्यालय बसको घरमा भुकम्पले क्षति पुगेपछि त्रिपालबाट सेवा दिईदै आएको छ । वडा नम्बर सातको मेलपोखरीमा वडा कार्यालय बसेको घर भुकम्पले क्षति पुर्याएर बस्न नमिल्ने भएपछि कार्यालय त्रिपालबाट सञ्चालन गरिएको हो ।

वडाको आफ्नै भवन नभएपछि स्थानीयको घर भाडामा लिएर वडा कार्यालय सञ्चालन गरिएकोमा भुकम्पले उक्त घरमा पूर्ण क्षति पुगेपछि त्रिपालबाट सेवा दिईरहेको वडा धनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार दिउसो त्रिपालबाट सेवा दिने र राति चर्किएको घरको एउटा कोठामा जोखिम मोलेर समान थन्काउने गरिएको छ ।

फोटो: त्रिपालबाट सञ्चालन गरिएको वडा कार्यालय । तस्बिर: सिर्जना वलीको फेसबुकबाट

स्थानीयले वडा कार्यालयको लागि जग्गा उपलब्ध गएको भएपनि हालसम्म भवन निर्माणको लागि बजेट नहुदा आफ्नै भवन बनाउन नसकिएको अध्यक्ष खड्काले बताए । उनले भने, “अब जनताले दिएको जग्गा छ, त्यस्मै केही बजेट व्यवस्थापन गरेर अस्थायी ठहरा बनाउने सोच त छ । तर अस्थायी टहरा बनाउन पनि वडामा आवश्यक बजेट छैन ।”

जाजरकोटको बारेकोटको रामीडाँडामा केन्द्रविन्दु बनाएर आएको भुकम्पका कारण त्रिवेणीमा मानवीय क्षति नभएपनि भौतिक क्षति भने धेरै भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन हजारबढी घरहरुमा क्षति पुगेको परारम्भिक तथ्यांक भएपनि यसको सङ्ख्या बढ्ने छ ।

त्रिवेणीमा हालसम्म केही त्रिपाल, बल्याङ्केट लगायतका सामाग्री राहतको रुपमा आएपनि जनअपक्षे अनुसार सामाग्री अपुग रहेको बताएको छ । हाल प्रत्येक वडामा वडाअध्यक्षको नेतृत्वमा वडासदस्य, कर्मचारी, शिक्षक, स्थानीय राजनीतिक दललाई समेटेर तथ्यांक सङकलन टोली निर्माण गरेर एकिन तथ्यांक सङ्कलन गरिरहेको बताएको छ ।

त्यस्तै त्रिवेणी गाउँपालिकाको झुल्नेटाबाट प्रसारण हुँदै आईरहेको रेडियो समावेशी आवाजको पनि भवन भुकम्पले भत्काएपछि त्रिपालबाटै रेडियो प्रसारण हुँदै आएको छ ।

त्रिवेणीको झुल्नेटामा सञ्चालित रेडियो समावेशी आवाजको भवन भत्किएपछि टेन्टबाट रेडियो सञ्चालन हुदैछ । तस्बिर: गोपाल ओलीको फेसबुकबाट