जाजरकोट भूकम्प : ९ करोड बराबरको खाद्यान्न क्षति

everest kitchen

जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

६।४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ ।

जाजरकोट भूकम्पले जिल्लाभर रु पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।रासस