एनआरएनए जर्मनीको संयुक्त बैठकद्वारा महत्वपूर्ण निर्णय: निर्वाचन प्रक्रिया पारदर्शी र समावेशी हुने प्रतिबद्धता

everest kitchen

बर्लिन, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जर्मनीले आगामी अधिवेशन र निर्वाचन प्रक्रियालाई सफल, पारदर्शी र समावेशी बनाउने उद्देश्यले २०२५ जुन २१ का दिन एक संयुक्त बैठक सम्पन्न गरेको छ। बैठक जूम मार्फत आयोजित गरिएको थियो।

बैठकमा एनआरएनए जर्मनीका अध्यक्ष निनाम्मा राई, निर्वाचन प्रमुख दिल बहादुर गुरुङ, पूर्व अध्यक्षहरू डा. नवराज रोश्यारा, बिजय मोक्तान, हरि न्यौपाने, साथै ICC सदस्य चन्द्रकान्त आचार्य, र सल्लाहकारहरूमध्ये श्याम खनाल, मानव कुमार श्रेष्ठ, सन्तोष भट्टराई, गोबिन्द भण्डारी, हेमराज जोशी, युवराज अधिकारी, पासाङ शेर्पा, अमृत पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यसमितिबाट बरिष्ठ उपाध्यक्ष लोकमणि ढकाल, उपाध्यक्ष राजेश सुनार, महासचिव सिजन दाहाल, र कोषाध्यक्ष रोबिन गौतम पनि बैठकमा सहभागी थिए।

बैठकका प्रमुख निर्णयहरू यस्ता छन्:

  1. सन् २०२५ जुलाई २० मा बर्लिनमा हुने अधिवेशनलाई भव्य र सफल बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

  2. एनआरएनए जर्मनी e.V. को सदस्यता लिन चाहनेहरूले गूगल फारम वा MIS प्रणालीद्वारा सदस्यता लिन सक्नेछन्। यीमध्ये कुनै एक माध्यमबाट सदस्यता प्राप्त व्यक्तिहरूलाई मात्र निर्वाचनमा भाग लिन दिइनेछ।

  3. MIS प्रणाली एनआरएनए समुदायको साझा सम्पत्ति भएको स्पष्ट धारणा बैठकले राखेको छ – यो कुनै एक पक्षको अधिकारमा सीमित नरहने जनाइएको छ।

  4. MIS प्रणालीको जिम्मेवारी पूर्व अध्यक्ष हरि न्यौपानेलाई दिइएको र उहाँले सो जानकारी बैठकमा प्रस्तुत गर्नुभएको छ।

  5. पारदर्शिता कायम गर्न कोषाध्यक्ष रोबिन गौतमलाई MIS प्रणालीमा पहुँच दिने निर्णय गरिएको छ।

  6. हाल देखिएको विवाद र विभाजनको सन्दर्भमा एनआरएनए जर्मनीले तटस्थ भूमिकामा रहने र यसको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र न्यायालयमार्फत ICC लाई एकीकृत गर्न पहल गर्न आग्रह गरिएको छ।

बैठकले सदस्यता प्रक्रिया, MIS पहुँच, तथा निर्वाचन प्रणालीमा पारदर्शिता, सहभागिता र सहकार्यको पूर्ण प्रतिबद्धता दोहोर्‍याएको छ। एनआरएनए जर्मनी परिवारले आगामी अधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने तयारीमा कुनै कसर बाँकी नराख्ने स्पष्ट संकेत दिएको छ।