एनआरएनएले काठमाडौं ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई हस्तान्तरण गर्‍यो

everest kitchen

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौ‌ं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम नेपाल प्रहरीलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

मङ्गलवार आयोजित विशेष कार्यक्रममा अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष एवं एनआरएनए विपद् व्यवस्थापन समितिका संयोजक मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई कन्ट्रोल रुमको साँचो हस्तान्तरण गरे।

७५ लाखको लागतमा आधुनिक संरचना

करीब ७५ लाख ४४ हजार रुपैयाँको लागतमा सम्पन्न परियोजनामा सिभिल निर्माण, आधुनिक डिजाइन, भिडियो वाल, नेटवर्क प्रणाली, र अपरेशनल उपकरणहरूको प्रतिस्थापन तथा मर्मत कार्य गरिएको छ।

यससँगै काठमाडौं उपत्यकाका मुख्य सडकहरू अब सिसिटिभी निगरानीमा रहनेछन्।

अध्यक्ष श्रेष्ठले भने, “यो केवल संरचना हस्तान्तरण होइन, यो प्रवासी नेपालीहरूको मातृभूमिप्रतिको जिम्मेवारी र सहकार्यको प्रतीक हो।”

उनले विश्वका स्मार्ट सहरहरू — सिङ्गापुर, टोक्यो, लन्डन र दुबई — बाट प्रेरणा लिँदै नेपालमा पनि कृत्रिम बुद्धिमत्ता (AI) आधारित ट्राफिक व्यवस्थापन र रियल टाइम डेटा मोनिटरिङ प्रणाली लागू गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको दिशा

कार्यक्रममा उपत्यका प्रहरी प्रमुख एआईजी कार्कीले एनआरएनएप्रति आभार व्यक्त गर्दै भने, “अब ट्राफिक व्यवस्थापन प्रविधिमा आधारित ‘स्मार्ट सिटी’ अवधारणातर्फ अघि बढ्नेछ।”

उनका अनुसार, नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनमा ‘फोर ई’ सिद्धान्त (Engineering, Education, Environment, Enforcement) लागू गर्दै ‘फेसलेस कारबाही प्रणाली’ सुरु गर्ने तयारी गरेको छ।

एआईजी कार्कीले सवारी दुर्घटनामा हुने मानवीय क्षतिको तथ्याङ्क प्रस्तुत गर्दै भने, “नेपालमा हुने कुल सडक दुर्घटनामा ४४ प्रतिशत मृत्यु मोटरसाइकल प्रयोगकर्ताका र ४२ प्रतिशत पैदल यात्रीका हुन् — जसले कुल मृत्युदरको ८६ प्रतिशत हिस्सा ओगट्छ।”

मापसे चेकिङ र सुरक्षा अभियान

एनआरएनएले दोस्रो चरणमा मादक पदार्थ सेवन (मापसे) परीक्षणका लागि ब्रेथलाइजरहरू हस्तान्तरण गर्ने जनाएको छ।
एआईजी कार्कीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी चलाउने कार्य “किमार्थ स्वीकार्य नहुने” भन्दै लगातार चेकिङ अभियान जारी राखिने बताए।

सहयोग र प्रतिबद्धता

कार्यक्रममा एनआरएनएका सिइओ रविकिरण अधिकारीले संस्थाका हालसम्मका काम र आगामी योजनाबारे जानकारी दिए।
उपाध्यक्ष मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ले भने, “जेन जेड आन्दोलनपछि क्षतिग्रस्त संरचनाको मूल्याङ्कन गर्दा सडक सुरक्षालाई प्राथमिकता दिँदै कन्ट्रोल रुम पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरिएको थियो।”

सह–संयोजक रश्मि थापाले दसैँ–तिहारका कारण काममा केही ढिलाइ भए पनि गुणस्तरीय रूपमा काम सम्पन्न गरिएको बताइन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले भने, “साँघुरा सडक र सवारीको चापका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। नयाँ कन्ट्रोल रुमले निगरानी र व्यवस्थापनमा ठूलो सहयोग पुर्‍याउनेछ।”