बद्रीले नक्कली एमाले बनेका शर्मालाई बोक्दै हिँडेपछि प्रवासी मन्चभित्र मतभेद चर्कियो

everest kitchen

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनको सरगर्मीसँगै संस्थाभित्रको आन्तरिक राजनीति र शक्ति सङ्घर्ष चुलिएको छ। यहीबीच बद्री केसी पक्षमा रहेका वर्तमान उपाध्यक्ष हेमराज शर्माले १२औँ महाधिवेशनबाट अध्यक्षमा चुनाव जित्ने उद्देश्यले गरेको एउटा तिकडम एनआरएनए वृत्तमा चर्चाको विषय बनेको छ।

प्राप्त जानकारी अनुसार, कांग्रेस निकट मानिने शर्माले अध्यक्ष बन्नका लागि सहयोग माग्दै एमालेमा हालेको निवेदन अहिलेले प्रवासका एमालेहरु कार्यकर्ताहरूमाझ ‘हंगामा’ मच्चिएको छ। शर्माले आफू एमाले निकटकै भएको सन्देश दिनेगरी एमालेमा निवेदन हालेर चुनावी समीकरण बदल्न खोजेपछि एमालेको भ्रातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) भित्रका इमानदार कार्यकर्ताहरूले यसलाई गम्भीर रूपमा लिएका छन्।

लामो समयदेखि नेपाली कांग्रेस, खासखास व्यक्तिसँग चोचोमोटो मिलाउँदै आएका तर बाहिर म कसैको होइन भन्दै हिँड्ने हेमराज शर्मालाई बद्री केसीले समेत ‘एमाले’ भनेर भिराएर चुनावी मैदानमा उतार्न खोजेको बताइन्छ। ओएनएफका अध्यक्ष सञ्जय थापा लगायतका नेतृत्वदायी पंक्तिमा अहिले यस विषयलाई लिएर तीव्र असन्तुष्टि बढेको छ।

शर्मा खासमा एमाले कार्यकर्ता नै होइनन्। उनी केवल पद र शक्तिका लागि ‘जता पायो उतै लुप्त हुने’ र अवसर अनुसार रङ फेर्ने पात्रको रूपमा चिनिएका छन्। ओएनएफ भित्रका असन्तुष्ट पक्षका अनुसार शर्माले एमालेको नाम भजाएर भित्रभित्रै अर्कै पक्षलाई ‘अन्तर सपोर्ट’ गरिरहेका छन्। उनलाई ‘नक्कली एमाले’ को संज्ञा दिँदै मञ्चभित्र ठुलो विद्रोह सुरु भएको छ। सोहीअनुसार १२औँ महाधिवेशनमा अहिले बद्री केसी भनिएकाहरु नै विभाजित हुने स्थितिमा पुगेका छन्।

एनआरएनएका दुई मध्येका एक अध्यक्ष बद्री केसीले एमाले नेतृत्वलाई ‘चुनावमा सहयोग गर्ने’ प्रलोभन देखाएर हेमराजलाई मञ्चको आधिकारिक साझा उम्मेदवार जस्तो बनाउन खोजेको समेत बताइन्छ। तर, एमाले नेतृत्व भने यस डिजाइनमा सजिलै कन्भिन्स भइसकेको छैन।

“बद्रीले हेमराजलाई बोकेर हिँडेका छन्, तर ओएनएफ विभाजित छ,” स्रोत भन्छ, “वास्तविक एमाले कार्यकर्ताहरू हेमराज जस्तो अस्थिर पात्रलाई स्वीकार्न तयार छैनन्। कांग्रेसको साख बोकेको व्यक्तिलाई एमालेको नाममा चुनाव लडाउँदा संगठनको मर्यादामा आँच पुग्ने उनीहरूको ठहर छ।”

पछिल्लो समय काठमाडौँका एनआरएनए भेला हुने कफी पसलहरूमा यसबारे चर्चा सुनिन्छ । कांग्रेस निकट व्यक्तिहरूले एमालेमा निवेदन हाल्नुलाई धेरैले अचम्म र अर्थपूर्ण रूपमा हेरेका छन्। चुनाव जित्नका लागि सिद्धान्त र आस्था नै त्यागेर विपक्षी दलको शरणमा पुग्नुले एनआरएनभित्रको पदलोलुपतालाई छताछुल्ल पारेको छ।
एमालेभित्रको एउटा तप्काले यो निवेदनलाई लिएर नेतृत्वमाथि दबाब बढाएको छ।

“एनआरएनका कांग्रेसले एमालेमा निवेदन हालेपछि हंगामा हुनु स्वाभाविक हो,” ओएनएफ सम्बद्ध एक नेताले भने, “यो हेमराज शर्मालाई स्थापित गर्ने भन्दा पनि एमालेको जनमत प्रयोग गरेर चुनाव जित्ने रणनीतिक जाल मात्र हो।”

अहिले ओएनएफभित्र हेमराज शर्मालाई लिएर दुई धार स्पष्ट देखिएको छ। एक पक्ष उनलाई स्वीकार्न नसकिने भन्दै विद्रोहमा उत्रिएन लागेको छ भने अर्को पक्ष बद्री केसीको डिजाइनलाई सफल बनाउन लागिपरेको छ। तर, ‘नक्कली एमाले’ को यो कार्ड कत्तिको सफल हुन्छ, त्यो भने समयले देखाउने नै छ ।

यद्यपि पछिल्लो समय बद्री केसीले बोक्नुबाहेक शर्मा पूरै अलोकप्रिय छन् । जसको दृश्य बिहीबार परराष्ट्र मन्त्रालयमा भएको एक बैठकमा समेत देखिएको थियो । सो बैठकमा हेमराजलाई धेरैले आलोचना गरेका थिए ।