जोहोरमा नेपाली श्रमिकका लागि पिएनसीसीको सक्रियतामा घुम्ती सेवा कार्यक्रम आयोजना हुँदै

everest kitchen

क्वालालम्पुर, मलेसिया । मलेसियाको जोहोर क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूलाई कार्यस्थलमै सेवा र सहायता पुर्‍याउने उद्देश्यले प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को पहलमा ‘घुम्ती सेवा’ कार्यक्रम आयोजना हुने भएको छ। वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका र दूतावासको सेवा लिन कठिनाइ भोगिरहेका नेपाली श्रमिकहरूलाई लक्षित गर्दै पिएनसीसीले यो कार्यक्रम ल्याएको हो।

पिएनसीसी र नर्थ–साउथ इनिसिएटिभ (एनएसआई) को संयुक्त आयोजनामा हुने यस कार्यक्रमलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) नेपालद्वारा सञ्चालित ‘MiRiDeW Project Phase II’ ले समन्वय गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका प्रतिनिधिहरूको समेत सहभागिता रहने पिएनसीसीले जनाएको छ।

कार्यक्रमको विवरण:

  • मिति: २०८३ वैशाख २७ गते, आइतबार (१० मे २०२६)

  • समय: बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म

  • स्थान: जो होटल, जोहोर बारु

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले लामो समयदेखि मलेसिया लगायत विभिन्न देशमा रहेका नेपाली श्रमिकहरूको हकहित र उद्धारमा काम गर्दै आएको छ। यसपटक जोहोर क्षेत्रमा रहेका ठूलो संख्याका नेपाली श्रमिकहरूलाई राहदानी नवीकरण, कानुनी सहायता, र दूतावासबाट प्रवाह हुने अन्य सेवाहरूमा सहज पहुँच पुर्‍याउन पिएनसीसीले यो विशेष ‘हेल्प डेस्क’ सञ्चालन गर्न लागेको हो।

“श्रमिकहरूका समस्या सुन्न र उनीहरूलाई आवश्यक कानुनी एवं प्रशासनिक परामर्श दिन हामीले यो कार्यक्रमको संयोजन गरेका हौँ,” पिएनसीसीका प्रतिनिधिले जानकारी दिए। कार्यक्रमको बारेमा थप जानकारी तलको आधिकारिक सूचनामा हेर्न सकिनेछ।

जोहोर र आसपासको क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त दिन उपस्थित भई सेवा लिन पिएनसीसीले हार्दिक अपिल गरेको छ।