क्वालालम्पुर, बर्षौ देखि घरपरिवारसंग सम्पर्क बिहिन भई मलेसियामा गुमनाम रहेका बासे गुरुङ नेपाली दूतवासको सहयोगमा स्वदेश फर्किएका छन् । स्वास्थ्य अवस्था बिग्रदै गएपछि बासे गुरुङ, दूतवासको सम्पर्कमा आईपुगेका थिए ।
“५ मे, मंगलवार बेलुकी करिव ९ बजेतिर दूतवासको अगाडि देखा परेका गुरुङको हातमा बसको टिकट थियो । हेर्दा बिरामी जस्तो देखिन्थ्यो । सोधपुछ गरेर दूतवासलाई खवर गरे र आवास तथा खानेबस्नेको प्रवन्ध मिलाई दिए ।”- बासे गुरुङको उद्घारमा सहयोग गरेका बिकेस क्षेत्रीले सुनाए । क्षेत्रीका अनुसार बासे गुरुङ बसको यात्रा गरेर टिबिएस आए, त्यसपछि ट्याक्सीले दूतवासको बिल्लडिङ अगाडि ल्याएर छाडिदियो ।
बर्दघाट -६, नवलपरासीका बासे गुरुङ आजभन्दा १३ बर्ष अगाडि रोजगारीको सिलसिलामा मलेसिया आईपुगेका रहेछन् । जीवनको उर्जासिल उमेर विदेशको माटोमा पोखे तर समयको महत्वलाई बुझ्न सकेनन् र अहिले अप्ठ्यारोमा परे ।
रोजगारको लागि देश छाडेर उडेका उनी यतिपर उडे कि घर-परिवार, नातागोता, आफन्त सबै भुलेर सम्पर्क विहिन भए । स्वदेश फर्किदै गर्दा सम्म पनि बासे गुरुङको आफन्त कोहिसंग सम्पर्क थिएन । त्यहि भएर परिवारको सम्पर्क गराउने र जिम्मा लगाउने पिएनसिसि मलेसियाले समन्वय गरेको हो । नेपाल पुगेर परिवारको जिम्मा्मा नलागुन्जेल उनी पिएनसिसिको सेल्टर हाउसमा रहने छन् ।
बासे गुरुङको उद्धारमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली राजदूतवासका जनसम्पर्क अधिकृत जय गिरीका अनुसार ट्राभल्स डकुमेन्ट, हवाई टिकट, अध्यागमनमा लाग्ने शूल्क र सहजिकरण लगायतका सम्पूर्ण खर्च दूतवासले बेहोरेको हो । ६ मे, बुधवारका दिन बाटिक एयरको उडानबाट स्वदेश फर्किएका बासे गुरुङलाई दूतवासले नै एयरपोर्ट पुर्याएको हो ।











