भ्रष्ट प्रदेश सरकार बिघटन गरेर संघीयता बलियो बनाऊ: प्रभु साह

everest kitchen

काठमाडौं, ४ असोज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्ट प्रदेश सरकार र स्थानीय सरकार पनि खारेज हुनुपर्ने बताएका छन् । भ्रष्ट प्रदेश सरकारहरु विघटन गरेर संघीयतालाई बलियो बनाउनुपर्ने उनले बताए ।

आजपाको आज (शनिबार) काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले संघीयता खारेज होइन अझै बलियो बनाउनुपर्ने बताए ।

आजपाले मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, लुट एवं भ्रष्टाचार अन्त्य गर्न दलाल दलतन्त्रको सट्टा आम जनताको शासनका जरुरी छ भन्ने निष्कर्ष निकाल्दै दुई बर्ष अघि तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । सोही तेस्रो जनआन्दोलनको जगमा अहिले जेनजीको जनविद्रोह भएको साहले बताए ।

‘मुलुकमा भ्रष्टाचार, कुशासन, अनियमितता, दलहरुको लुटकारी दलतन्त्रका कारण मुलुकको राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र नै धरासायी बन्दै गएको निष्कर्ष हाम्रो थियो । त्यसैले हामीले तेस्रो जनआन्दोलनको घोषणा पनि गर्यौ र त्यही जगमा आज जेनजीको जनविद्रोह भयो,’ आजपा अध्यक्ष साहले भने ।

संविधान र व्यवस्था गलत भएकै कारण नेपाली जनताको अवस्था खराब भएको बताउदै उनले यो संविधान खारेज गरेर जेनजीहरुको माग सम्बोधन गर्नुपर्ने उनले बताए । ‘संविधान गलत थियो, व्यवस्था गलत थियो, त्यही भएर नेपाली जनताको अवस्था खराब भएको कुरा स्वीकार गरौं । यही व्यवस्था कायम राखेर जेनजीहरुको माग सम्बोधन नहुने भएकाले यो संविधान खारेज गरेर भए पनि उनीहरुको माग सम्बोधन गर्नुपर्छ,’ साहले भने ।

संसद्, अदालत, सिंहदरबारजस्ता हाम्रा मुटमा षड्यन्त्रपूर्णक ढंगले प्रहार भएको भएको भन्दै उनले यसको उच्चस्तरीय छानविन हुनुपर्ने बताए । साहले जेनजी आन्दोलन अपहरण गरिएको र युवा पुस्ताको भावनामाथि नै कुठाराघात भएको बताए ।

जसले देशलाई भड्खालोमा हाले आज उनीहरु नै अहिले टाउको उठाउन खोजिरहेको बताउदै उनले युवाहरुको हत्या गर्ने केपी ओलीहरु अहिले युवालाई झुठो मुद्धामा फसाउने षडयन्त्रमा लागेको बताए ।

राज्यविहीनको अवस्थामा मुलुकलाई पुर्याउनेहरुमाथि कारबाही हुनुपर्ने माग समेत उनले गरे । जेनजी आन्दोलन मध्यावधि वा अर्ली इलेक्सनको नाममा भीडबाट लिडर सेलेक्सन गर्न नभएको उनले बताए ।

‘अन्तरिम सरकार युवाको माग थिएन । यही संविधान उनीहरुको चाहना होईन । नयाँ सरकार र नयाँ संविधान नै आजको निकास हो । यसतर्फ अघि बढ्नुपर्छ । यही संविधानको कारण मुलुक एकपछि अर्को गरेर अँध्यारो सुरूङमा पसेको छ । अब मरेको लाश बोकेर गाउँ–शहर परिक्रमा गरेर हुँदैन,’ आजपा अध्यक्ष साहले भने ।

साथै,हाम्रा सुरक्षा निकाय र यसको नेतृत्वहरुको पनि भूमिकाको समिक्षा हुनुपर्ने उनले बताए । ‘अगाडिको बाटो क्लियर छैन, बिग्रिएको व्यवस्था नभत्काएसम्म र यी चोर नेतालाई विस्थापित नगरेसम्म देश बन्दैन,’ उनले भने ।

देश अत्यन्तै जटिल मोडमा रहेको बताउदै उनले गृह, अर्थलगायतका मन्त्रालयमा नेतृत्व आएको तर अति नै संवदेनशील मानिएको रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय किन नेतृत्वविहीन ? यो पनि सोचनीय प्रश्न रहेको उनले बताए ।

शक्ति राष्ट्रहरुको चलखेल बढेको आभाष भईरहेको बताउदै उनले एकै दिन शक्ति राष्ट्रका राजदूतले प्रधानमन्त्रीको कार्यालयमा घरदैलो गरिरहेकाले नेपाली नागरिक सचेत हुनुपर्ने समेत उनले बताए ।