एनआरएनएले विगतका विवाद समाधान गर्दै पुनः एकताको पहल अघि बढायो

everest kitchen

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र देखिएका विगतका विभाजन र असमझदारीलाई समाधान गर्दै संस्थालाई पुनः साझा मञ्चमा ल्याउने ऐतिहासिक पहल संघले अघि बढाएको छ। संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा १ नोभेम्बरमा तयार गरिएको सहमतिपत्रको मस्यौदाले एनआरएनएलाई स्वतन्त्र, स्वायत्त, गैरराजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।

संघका प्रवक्ता गंगाधर गौतमका अनुसार, “डा. बद्री केसी नेतृत्वको समूहसँग आपसी संवाद, सहकार्य र सहमतिका माध्यमबाट विगतका विवाद समाधान गर्दै पारदर्शिता, विश्वसनीयता र संस्थागत स्थायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता हामीले जनाएको छ। एनआरएनए कुनै व्यक्ति वा समूहको मात्र संगठन होइन, विश्वभरका नेपालीहरूको साझा घर हो, जसलाई सबैको सहकार्यले मात्र मजबुत बनाउन सकिन्छ।”

सहमतिपत्रले संघभित्र विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकृति दिँदै एनआरएन अभियन्ताहरूको योगदानलाई सम्मान गर्ने प्रावधान राखेको छ। संघले १२औं महाधिवेशन निष्पक्ष, पारदर्शी र विश्वासयोग्य रूपमा सम्पन्न गर्ने लक्ष्यसहित विशेष संयोजक समिति, सिस्टम व्यवस्थापन समिति र विवाद समाधान संयन्त्र गठन गर्ने योजना प्रस्ताव गरेको छ।

साथै, अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिका आधारमा समाधान गर्दै सहमतिपत्रलाई परराष्ट्र मन्त्रालयको रोहवरमा आधिकारिक अभिलेख गर्न पनि प्रस्ताव गरिएको छ। यसलाई संघको वैधानिकता, पारदर्शिता र साझा स्वामित्व पुनःस्थापना गर्ने ठोस कदमको रूपमा हेरिएको छ।

संघका सबै पक्षलाई एनआरएनएको एकताको भावना पुनर्जीवित गर्ने यस पहलमा जिम्मेवारीपूर्वक सहयोग गर्न अपिल गरिएको छ।