कुआलालम्पुर (मलेसिया)। लामो समयदेखि सम्पर्कविहीन रहेका लमजुङका तेजबहादुर माझकोटी अन्ततः उद्धार भएका छन्। नेपाल दूतावास मलेसिया र पिएनसीसी मलेसियाको निरन्तर प्रयास र समन्वयबाट उनको सफल उद्धार गरिएको हो।
बेसिशहर नगरपालिका–३ (पूर्व गा.वि.स. वडा नं. ४), लमजुङका माझकोटी हराएको जानकारीपछि उनकी श्रीमती सुकुमाया माझकोटीले दूतावासमा निवेदन दिएकी थिइन्। निवेदन प्राप्त भएपछि दूतावास र पिएनसीसी मलेसियाले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।
तीव्र खोजी र स्थानीय सहयोगीहरूको प्रयासपछि २०२५ नोभेम्बर २ तारिख आइतबार राति करिब ९ बजे जलान आलोर, बुकित बिन्ताङ (कुआलालम्पुर) क्षेत्रबाट व्यवसायी लोचन बिमलीको सहयोगमा माझकोटीलाई भेट्टाइएको हो।
दूतावासको निर्देशनअनुसार सोही रात पिएनसीसी मलेसियाले “द खुकुरी रेस्टुरेन्ट”का सञ्चालक जी.बी. तामाङको सहयोगमा माझकोटीलाई सुरक्षित उद्धार गरी क्रिष्टिना होम केयर सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ।
हाल उनको स्वास्थ्य उपचार र हेरचाह कार्य नेपाल दूतावास मलेसिया र पिएनसीसीको प्रत्यक्ष निगरानीमा भइरहेको छ। स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि उनलाई नेपाल फर्काउने तयारी भइरहेको पिएनसीसी मलेसियाका संयोजक पुर्ण लिम्बुले जानकारी दिए।
लामो खोजीपछि भएको सफल उद्धारले परदेशमा विपदमा परेका नेपाली श्रमिकका पक्षमा दूतावास र सामुदायिक संस्थाहरूको सक्रिय भूमिका पुनः देखाएको छ।
                












