काठमाडौँ — राजधानीका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनमा आएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र, विमानस्थल लगायतका संवेदनशील र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा वाइफाइ विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार यसअघि सेवा उपलब्ध स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ नयाँ स्थानमा वाइफाइ जडान गरिएको हो।
अबदेखि नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ सेवा सञ्चालनमा आएको छ।
त्यस्तै ठूलोभर्याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयहरूमा क्षमता विस्तारको काम भइरहेको छ।
मन्त्रालयका अनुसार नेपाल टेलिकम, वल्र्डलिंक र भायनेट कम्पनीहरू सहकार्यमा निःशुल्क वाइफाइ सेवा विस्तार गरिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले नियामकको रूपमा सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरेर नेटवर्क क्षमता १० एमबिपिएसबाट १५० एमबिपिएससम्म वृद्धि गरेको जनाएको छ।
त्यसैगरी, प्रत्येक प्रयोगकर्ताका लागि डेटा सीमा १०० एमबीबाट बढाएर ५०० एमबी गरिएको छ।
नेपाल टेलिकमले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने योजना बनाएको छ।
गत असोज ६ गते मन्त्री पदभार ग्रहणपछि सञ्चारमन्त्री खरेलले काठमाडौं उपत्यकाभित्रका महत्वपूर्ण सार्वजनिक स्थलमा दुई महिनाभित्र निःशुल्क वाइफाइ सेवा पुर्याउने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यसको कार्यान्वयन स्वरूप आज बिहान ११ बजेबाट मन्त्री खरेलको टोलीले नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र विमानस्थलमा अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।
मन्त्रालयले उपत्यका बाहिरका १० प्रमुख शहरहरूमा पनि शीघ्र निःशुल्क वाइफाइ सेवा विस्तारको तयारी भइरहेको जनाएको छ।











