ओसाका — नेपाली राजदूतावास टोकियो र गैरआवासीय नेपाली संघ एनआरएनए जापान र क्षेत्रीय समिति कान्साईको सहकार्यमा नोभेम्बर १–३ मा आयोजित बिद्युतिय राहादानी तथा विभिन्न कन्सुलर घुम्ती सेवा सफलतापूर्वक सम्पन्न भएको आयोजक एनआरएनए कान्साईले जनाएको छ ।
तीन दिनसम्म चलेको शिविरमा ९९८ भन्दा बढी सेवाग्राहीले राहदानी, जन्मदर्ता, यात्रा अनुमति, कागजात प्रमाणीकरण, वारेसनामा, सवारीचालक अनुमति पत्र प्रमाणीकरण, राष्ट्रियता प्रमाणिकरण तथा सम्बन्धविच्छेद जस्ता सेवा प्राप्त गरेको कान्साई समितिले उल्लेख गरेको छ ।
समितिका अनुसार व्यवस्थापन, हल, होटेल, स्वयंसेवक र अन्य खर्च गरी कुल ७ लाख २३ हजार ४०० येन खर्च भएको छ। उक्त खर्च रकम सेवाग्राहीबाट सहयोग प्राप्त भएको थियो ।
यस्तै, ९९८ जनाले सेवा प्राप्त गरेपनि सहयोग टोकन वितरण गरिएका ७४७ सेवाग्राहीबाट ७ लाख ४६ हजार ३६५ नगद रकम उठेको थियो भने १०१ जना टोकन लिएकाले भने यसको बिरोध गर्दै सेवा लिएर पनि सहयोग रकम दिन अस्विकार गरेका थिए । यद्यपि यो बाध्यकारी नभएकोले सहयोग रकम नदिनेले पनि सम्मान रुपमा सेवा प्राप्त गरेको सघंले बताएको छ ।
खर्च कटाएर २२ हजार ९६५ येन बचत भएकोले आवश्यक परे उक्त बचत रकम सेवाग्राहीलाई प्रति व्यक्ति ३१ येनका दरले फिर्ता गरिने समितिले जनाएको छ ।
यस्तो किसिमको घुम्ती सेवा नहुँदा टोकियो पुग्नुपर्ने र एक जनाले झन्डै ५० हजार खर्चिनुपर्ने भएकाले यस सेवाले समुदायलाई अनुमानित ४ करोड ९९ लाख बचत भएको समितिको भनाइ छ।
साथै, सामाजिक सञ्जालमा फैलिएको भ्रम र शुल्कबारे अतिरञ्जित प्रचारप्रति समितिले आपत्ति जनाउँदै घुम्ती सेवा पूर्ण नाफारहित रूपमा सञ्चालन भएको स्पष्ट पारेको छ। निराधार आलोचनाले स्वयंसेवकहरूको मनोबलमा चोट पुगेको भन्दै आगामी शिविर दूतावाससँग व्यवस्थापन सहमतिपछि मात्र सञ्चालन हुने जनाएको छ।
साथै, दोस्रो चरणको घुम्ती सेवा लगत्तै सञ्चालन हुने निधो भएकोमा हालका परिस्थितिले प्रभावित भएकोले पर्न गएको असुविधाबापत समिति क्षमायाचक भएको जनाएको छ।
संघका अनुसार जापानमा लामो समय बसेका नेपालीलाई यस्तो शिविरबाट लाभ लिने गरेका छन् । जापानमा जन्मेको बच्चाको जन्म दर्ता, राहदानी नवीकरण, विभिन्न प्रमाणपत्र प्रमाणीकरण लगायतका सेवामा सेवाग्राहीले लाभ लिने गरेका छन् ।
यद्यपि राजदुतावासको व्यवस्थापन जनशक्ति र बजेट अभावका कारण गैरआवासीय नेपाली संघ लगायत नेपाली संघसंस्थाको सहयोगमा यस्तो शिविरहरु सञ्चालन हुदै आएकोले ओसाकामा पनि व्यवस्थापन बजेट अभाव हुदा सेवाग्राहीबाट हजार येनका दरले सहयोग रकम संकलन गरिएको संघले स्पष्ट पारेको छ हो ।
तर सेवा लिने एक हजार येन सहयोग रकम पनि नदिने उल्टै स्वयंसेवकलाई आर्थिक लाभ लिएको आरोप लगाएर मनोबल घटाएको संघले गुनासो गरेको छ । एउटा स्वयंसेवक ३ दिनसम्म आफ्नो काम त्यागेर निस्वार्थ सेवामा सहभागी भएकाले नेपाली सेवाभावमा आँच आउने काम नगर्न संघले अनुरोधसमेत गरेको छ ।











