हेटौंडा । लामो समयदेखि अधुरो र अलपत्र अवस्थामा रहेको हेटौंडा बजार क्षेत्रको सडक विस्तार प्रक्रिया फेरि एकपटक तीव्र गतिमा अघि बढ्ने संकेत देखिएको छ । हेटौंडाका स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँगको विस्तृत छलफल पछि शहरी विकास तथा पूर्वाधार मन्त्री कुलमान घिसिङले दिएको निर्देशनपछि सडक डिभिजन कार्यालय हेटौंडाले सडक सीमा खाली गराउने सूचना जारी गर्ने अन्तिम तयारी पूरा गरेको छ ।
छलफलमा सहभागी प्रतिनिधिहरूले दशकौँदेखि थन्किएको सडक विस्तार, अव्यवस्थित संरचना र त्यसका कारण स्थानीयले भोग्दै आएका कठिनाइबारे विस्तृतरूपमा चिन्ता व्यक्त गरेका थिए । बैठकमा मन्त्री घिसिङले हेटौंडाको मुख्य व्यापारिक मार्गलाई दीर्घकालीन रूपमा स्तरीय, सुरक्षित र व्यवस्थित बनाउने योजनासह तत्कालीन चरणमा सडक सीमा खाली गराउने सूचना सार्वजनिक गर्नु अपरिहार्य भएको बताए ।
‘हेटौंडाको सडक विस्तार अब कुनै बहानामा रोकिँदैन, बजेटको अभाव हुनुहुन्न,’ मन्त्री घिसिङले भनेपछि सडक डिभिजन कार्यालयले तयारी अवस्थामा राखिएको सूचना जारी गर्ने प्रक्रियालाई तीव्रता दिएको हो ।
डिभिजन कार्यालयका अनुसार मन्त्रीस्तरीय निर्देशनपछि बजार क्षेत्रमा रहेका अवैध संरचना, अतिक्रमण र सडक किनारका अवरोध हटाउन अब कडाइका साथ अघि बढिनेछ । आवश्यकताअनुसार सर्वेक्षण, मापदण्ड निर्धारण र पुनःस्थापनासम्बन्धी काममा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिने कार्यालयले जनाएको छ ।
हेटौंडा बजार क्षेत्रमा २५–२५ मिटर सडक चौडाइ कायम गर्ने योजनाले करिब ५० वर्ष पूरा गरिसक्दा पनि काम भने थलिएको अवस्थामा थियो । राजनीतिक परिवर्तन, नेतृत्वका प्राथमिकतामा फेरबदल र स्थानीय विरोधका कारण समय–समयमा पहल भए पनि विस्तारको काम अघि बढ्न सकेको थिएन । यसको प्रभाव यातायात जाम, दुर्घटनाको जोखिम वृद्धि र बजार क्षेत्रको भौतिक विकासमा प्रत्यक्ष परेको थियो ।
तर यसपटक मन्त्री घिसिङको प्रत्यक्ष संलग्नता, बजेट सुनिश्चितताको घोषणा र स्थानीय तहसँग देखिएको एउटै धारको सहकार्यपछि हेटौंडावासीले सडक विस्तार अब वास्तवमै कार्यान्वयनमा जाने विश्वास लिएका छन् । सडक डिभिजन कार्यालयले पनि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने जनाएसँगै हेटौंडा बजार क्षेत्रले नजिकैको भविष्यमा ठूलो भौतिक रूपान्तरण देख्न सक्ने संकेत प्रस्ट देखिन थालेको छ ।











