मलेसियाबाट ९ जना नेपालीको स्वदेश फिर्तीमा सहयोग गर्ने व्यक्ति तथा संस्थाप्रति राजदूतावासको धन्यवाद

everest kitchen

क्वालालम्पुर — विभिन्न कारणले मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरूमा रहन बाध्य भएका ९ जना नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरूप्रति नेपाली राजदूतावास, क्वालालम्पुरले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

राजदूतावासका अनुसार साल २०८२ को कार्तिक, मंसिर र पुस महिनामा हवाई टिकट उपलब्ध गराई ती नेपाली नागरिकहरूको उद्धार तथा नेपाल फिर्ती सम्भव भएको हो। उद्धार कार्यमा नेपाली समुदायका सामाजिक अभियन्ता, संघ–संस्था तथा सहयोगी व्यक्तिहरूको उल्लेखनीय योगदान रहेको राजदूतावासले जनाएको छ।

स्वदेश फिर्तीमा सहयोग पुर्‍याउनेमा श्री इन्दु बस्नेत, गोरखा एसोसिएसन मलेसियाका प्रतिनिधि श्री रोशन राना, श्री इन्द्र नारायण लिम्बु, हेल्प मधेशी मलेसिया, लाङ्घाली चुलो मलेसिया, नेपाली जनसम्पर्क समिति मलेसिया, श्री कुमार लामा तथा ओखलढुंगा सेवा समाज मलेसिया रहेका छन्।

राजदूतावासले कठिन अवस्थामा परेका नेपाली नागरिकहरूको उद्धारमा देखिएको सहयोग, सहकार्य र मानवीय भावनाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोग र एकताको अपेक्षा गरेको जनाएको छ।