काठमाडौं/क्वालालम्पुर — भिजिट भिसाको प्रयोग गर्दै नेपाली महिलाहरूलाई मलेसिया ल्याई अलपत्र पारेको आरोपमा संलग्न रहेको भनिएका मनोज चिनाल नामक व्यक्तिलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित महिलाहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।
पछिल्लो समय वैधानिक श्रम स्वीकृतिमार्फत विदेश जान कठिन बन्दै गएपछि ‘छिटो विदेश पुग्ने’ र ‘आकर्षक आम्दानी’को प्रलोभन देखाउँदै भिजिट भिसामार्फत नेपाली नागरिकलाई मलेसिया लैजाने क्रम तीव्र हुँदै गएको छ। यसरी गएका धेरै नेपालीहरू रोजगारी नपाउने, अवैध बसोबासको जोखिम र आर्थिक संकटमा पर्ने गरेका उदाहरण बढिरहेका छन्।
पीडित महिलाहरूका अनुसार चिनालले नेपालस्थित विभिन्न एजेन्टहरू प्रयोग गरी दैनिक सयौँ नेपालीलाई मलेसिया ल्याउने गरेको आरोप छ। रोजगारीको सुनिश्चितता र सुरक्षित बसोबासको आश्वासन दिइए पनि मलेसिया पुगेपछि न त काम उपलब्ध गराइएको थियो, न त आधारभूत आवासको व्यवस्था गरिएको पीडितहरूको भनाइ छ।
एक दर्जनभन्दा बढी नेपाली महिला करिब डेढ महिनासम्म मलेसियामा बिचल्लीमा परेका थिए। रेस्टुरेन्ट तथा घरेलु काममा लगाइने आश्वासनमा ल्याइए पनि पछि उनीहरू ओभरस्टे र अवैध बसोबासको जोखिममा परेको बताइएको छ। पीडितहरूले नेपाल प्रहरीसमक्ष समेत लिखित उजुरी दर्ता गराइसकेको जानकारी दिएका छन्।
उजुरीअनुसार विदेश पठाउने नाममा प्रतिव्यक्ति करिब चार लाख रुपैयाँसम्म पटक–पटक असुली गरिएको र समस्या उठाउँदा धम्कीसमेत दिइएको आरोप छ। यस घटनाले पीडित महिलाहरू मानसिक तनाव, आर्थिक अभाव र कानुनी जटिलताको दोहोरो मारमा परेको बताइएको छ।
यसैबीच, मलेसियाली अध्यागमन विभागले भिजिट भिसाको दुरुपयोग गर्ने विदेशी नागरिकविरुद्ध पछिल्लो समय कडाइ गरेको छ। विमानस्थलबाटै फर्काउने, छापा अभियान सञ्चालन गर्ने तथा आप्रवासन कानुन उल्लङ्घन गर्नेहरूलाई जरिवाना, जेल सजाय र देशनिकाला गर्ने प्रक्रिया तीव्र पारिएको विभागले जनाएको छ।
यद्यपि, चिनाल पक्राउ परेको विषयमा हालसम्म मलेसियाली अधिकारीहरूबाट औपचारिक पुष्टि सार्वजनिक भइसकेको छैन। सरोकारवालाहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्।
प्रवासी अधिकारकर्मीहरूका अनुसार भिजिट भिसाको दुरुपयोग, एजेन्ट–दलालको संगठित जालो र कमजोर सरकारी अनुगमनका कारण नेपाली महिलाहरू विशेष रूपमा जोखिममा पर्दै आएका छन्। उनीहरूले नेपाल सरकार, श्रम मन्त्रालय, नेपाल प्रहरी र मलेसियास्थित नेपाली दूतावासलाई पीडितको तत्काल उद्धार, घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।
पीडित महिला, मलेसियास्थित नेपाली समुदाय र दूतावासको समन्वयमा चिनाल पक्राउ परेका हुन्। स्रोतका अनुसार उनी यसअघि पनि पक्राउ परेपछि विभिन्न ‘सेटिङ’मार्फत छुटेको आरोप लाग्दै आएको थियो। यसपटक भने घटनाको गम्भीरताका कारण अनुसन्धान प्रक्रिया अघि बढाइएको बताइएको छ।











