क्वालालम्पूर, पिएनसिसि र आईएलओ द्वारा संयुक्तरुपमा संञ्चालित MIRIDew परियोजना अन्तरगत २ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत प्रवासी नेपाली श्रमिकहरुसंगको प्रत्यक्ष सहभागितामा २५ अप्रिल सनिवारका दिन पोर्ट केलाङ र जोहोरबारु त्यसैगरि २६ अप्रिल आईतवारका दिन क्वालालम्पुर र रवाङमा सम्पन्न भएको हो ।
पिएनसिसि मलेसिया संयोजक पूर्ण लिम्बूको संयोजनमा पोर्टकेलाङ, क्वालालम्पुर र रवाङमा सम्पन्न कार्यक्रमको प्रस्तोता जीवन देवान रहनु भएको थियो । देवानले योगदानमा आधारित “सामाजिक सुरक्षा कोष”, “दूरचिकित्सा(टेलिमेडिसिन) सेवा” र “श्रम स्वीकृति नविकरण” को विषयमा सहभागीहरुलाई जानकारी एवं सचेतना प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई सफल बनाउन बाग्लुङ सेवा समाजको अध्यक्ष कृष्ण खड्काको पनि सक्रिय सहयोग रहेको थियो ।
त्यसैगरि राजु तामाङको संयोजनमा जोहोरबारुमा सम्पन्न कार्यक्रमको प्रस्तोता सुरेन्द्र महत्तो रहनु भएको थियो । महत्तोले पनि “सामाजिक सुरक्षा कोष” को बारेमा सहभागीहरुलाई जानकारी एवं सचेतना प्रदान गर्नु भएको थियो ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुलाई श्रम स्विकृतिको उपदेयता, नविकरण नगर्दाको अवस्थामा हुने जोखिम, म्याद भएका श्रम स्विकृतिबाट लिन सकिने लाभ, त्यसैगरि सामाजिक सुरक्षा कोषको अवधारणा, वृद्ध अवस्थाको सुरक्षा प्रत्याभूति गराउने कोषको उदेश्य साथै वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालको सहकार्यमा सञ्चालित दूर चिकित्सा सेवाको प्रायोजन लगायतका विषयमा सचेत गराउन वा सचेतना जागृत गराउने उदेश्यले पिएनसिसिले MIRIDew परियोजना संञ्चालन गरेको हो । सोही परियोजना अन्तर्गत पिएनसिसि मलेसियाले श्रमिकहरुसंग कहिले डिजिटल उपस्थिति त कहिले भौतिक उपस्थितिमा सचेतना कार्यक्रम गर्दै आईरहेको छ । MIRIDew परियोजना मलेसिया संयोजक रेखा लिङ्दमका अनुसार आगमी दिनमा पनि यस किसिमका कार्यक्रमहरु गर्दै जाने पिएनसिसिको लक्ष्य रहेको बताउनु भएको छ ।











