हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लो समय लागूऔषध, तस्करी, अवैध मदिरा कारोबार तथा विभिन्न गैरकानुनी गतिविधिविरुद्ध प्रहरीले कडाइ बढाएपछि आपराधिक समूहहरू दबाबमा परेको चर्चा व्यापक बनेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री को नेतृत्वमा अपराध नियन्त्रण, निगरानी तथा कारबाहीलाई तीव्रता दिइएपछि केही स्वार्थ समूहले प्रहरी संगठनविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको सुरक्षा स्रोतहरूको दाबी छ।
पछिल्ला केही सातायता सामाजिक सञ्जाल तथा विभिन्न अनौपचारिक माध्यममार्फत मकवानपुर प्रहरीमाथि असुली, सेटिङ तथा तस्करी संरक्षणजस्ता आरोपहरू लगाइए पनि ती आरोप पुष्टि हुने कुनै आधिकारिक प्रमाण सार्वजनिक भएका छैनन्। बरु प्रहरीको सक्रिय अभियानकै कारण लागूऔषध कारोबारी, अवैध मदिरा व्यापारी, तस्कर तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न गिरोहहरू त्रसित बनेको स्थानीयस्तरमा चर्चा हुन थालेको छ।
प्रहरीले हेटौंडा, रातमाटे, भैँसे, बसपार्क, चौकीटोललगायत संवेदनशील क्षेत्रहरूमा निगरानी बढाएको जनाएको छ। विशेषगरी गाँजा, चरेस, अफिम तथा अन्य लागूऔषध ओसारपसारमा संलग्न गिरोहमाथि निगरानी कडा बनाइएको छ। सीमावर्ती नाकाबाट हुने चोरी–तस्करी, भन्सार छलि तथा अवैध कारोबार नियन्त्रणका लागि पनि प्रहरीले नियमित चेकजाँच र अपरेशन सञ्चालन गरिरहेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार पहिला खुलेआम रूपमा सञ्चालन हुने केही डान्सबार, दोहोरी, होटल तथा गेस्टहाउसहरूमा हुने अवैध गतिविधिमाथि निगरानी बढाइएपछि त्यस्ता समूह असन्तुष्ट बनेका छन्। राति अबेरसम्म हुने होहल्ला, जुवातास, लागूऔषध सेवन तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रहरीले निरन्तर दबाब सिर्जना गरिरहेको बताइन्छ।
एसपी श्यामबहादुर खत्री ले केही समयअघि सार्वजनिक कार्यक्रममै अनुमति समय नाघेर सञ्चालन हुने डान्सबार तथा दोहोरीमाथि कडा निगरानी गरिने बताएका थिए। उनले समाजमा विकृति फैलाउने कुनै पनि गतिविधिलाई छुट नदिने स्पष्ट सन्देश दिएका थिए। त्यसयता प्रहरीको सक्रियता झनै प्रभावकारी बनेको स्थानीयहरूको भनाइ छ।
मकवानपुर प्रहरीले पछिल्ला महिनाहरूमा ठूलो परिमाणमा लागूऔषध बरामद, अवैध घरेलु मदिरा नष्ट, तस्करीका सामान नियन्त्रण तथा फरार अभियुक्त पक्राउ गरेको विवरण सार्वजनिक गरिसकेको छ। चौकीटोल क्षेत्रमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टीमा छापा मारेर लाखौं रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको थियो।
यसैबीच, केही प्रहरी कर्मचारीको नाम जोडेर सामाजिक रूपमा बदनाम गराउने प्रयास भएको भन्दै प्रहरी प्रशासनले गम्भीर चासो व्यक्त गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता तथा सूचना अधिकारी इन्स्पेक्टर राजु कुर्मी ले प्रहरीले “शून्य सहनशीलता” को नीति अपनाएर काम गरिरहेको बताएका छन्।
उनले भने,
“मकवानपुर प्रहरीले लागूऔषध, तस्करी तथा अवैध गतिविधिविरुद्ध निरन्तर अभियान सञ्चालन गरिरहेको छ। गलत काम गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ।”
स्थानीयवासीहरूका अनुसार पछिल्लो समय जिल्लामा प्रहरीको उपस्थिति र निगरानी बढेका कारण सर्वसाधारणले पहिलेभन्दा बढी सुरक्षा महसुस गर्न थालेका छन्। रातिको समयमा हुने अवाञ्छित गतिविधि न्यूनीकरण भएको र बजार क्षेत्रमा प्रहरी गस्ती प्रभावकारी देखिएको उनीहरूको भनाइ छ।
यसका साथै, हेटौंडामा जथाभावी रूपमा हुने अवैध पार्किङ नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि सरकारी वा गैरसरकारी भेदभाव नगरी कारबाही गर्न एसपी श्यामबहादुर खत्री ले निर्देशन दिएको प्रहरी स्रोतको भनाइ छ। त्यस्तै, अवैध रूपमा सञ्चालन भएका गिट्टी तथा क्रसर उद्योगमाथि पनि निगरानी र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।
प्रहरी नेतृत्वले जिल्लाभर कार्यरत प्रहरी कर्मचारीलाई निष्ठा, अनुशासन र सेवामुखी भावनासहित काम गर्न निर्देशन दिएको छ। अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकको विश्वास जित्ने कार्यमा इमानदार ढंगले खटिन प्रहरी कर्मचारीलाई प्रेरित गरिँदै आएको प्रहरी स्रोतको दाबी छ।
नागरिक समाजका अगुवाहरूले पनि बिना प्रमाण सुरक्षा निकायमाथि आरोप लगाएर संगठनको मनोबल कमजोर बनाउने प्रयास उचित नभएको बताएका छन्। उनीहरूका अनुसार अपराध नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्नु आवश्यक छ।
संवेदनशील जिल्लाका रूपमा रहेको मकवानपुरमा अपराध नियन्त्रण, तस्करी रोकथाम र शान्ति सुरक्षाको चुनौती जटिल भए पनि त्यसको सामना गर्न प्रहरी संगठन सक्रिय रूपमा खटिएको देखिन्छ। जिल्लामा सुशासन, कानुनी व्यवस्था र नागरिक सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी प्रशासनले अझ कडा रूपमा अभियान सञ्चालन गरिरहेको बताइएको छ











