काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन स्थलमा नेताहरूले आफ्ना राजनीतिक धारणा, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वबारे आ–आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् ।
सांसद रमेश प्रसाईंले केन्द्रिय सदस्य र पदाधिकारी दुवै चरणमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीभित्र योग्यताको आधारमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राम्रो काम गर्ने नेताहरूलाई पुरस्कृत र कमजोर कार्यसम्पादन गर्नेहरूलाई दण्डित गर्ने परम्परा स्थापित हुनुपर्ने बताए । प्रसाईंले आफू सहमहामन्त्री पदमा आकांक्षी रहेको स्पष्ट पार्दै अन्तिम निर्णय पार्टीका सार्वभौम सदस्यहरूले गर्ने उल्लेख गरे ।
उनका अनुसार राजनीति केवल पद प्राप्तिको विषय नभई जिम्मेवारी पूरा गर्ने माध्यम हो ।
‘नेताले राम्रो गरेको छ भने पुरस्कृत गर्ने वेला यही हो, नेताले आफ्नो जिम्मेवारीलाई न्याय गर्न सकेको छैन भने दण्डित गर्ने वेला पनि यही हो,’ उनले भने ।
उनले पार्टीमा पारदर्शिता, निष्पक्षता र सदस्यहरूको निर्णायक भूमिकामाथि विश्वास व्यक्त गरे ।
त्यस्तै, सांसद सागर ढकालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले पार्टीभित्र डिजिटल प्रणाली, इ–भोटिङ र निर्वाचन प्रक्रियामा प्राविधिक सुधार आवश्यक रहेको बताए ।
ढकालले हालको बन्दसत्रमा देखिएको प्राविधिक समस्या स्वाभाविक भएको उल्लेख गर्दै नयाँ अभ्यास गर्दा आउने चुनौतीका रूपमा यसलाई लिनुपर्ने धारणा राखे । उनका अनुसार पार्टीले विदेशमा रहेका सदस्यहरूको मतदानलाई समेत समेट्ने प्रयास गरिरहेको छ ।
ढकालले पार्टीभित्र नेतृत्व चयन पदको लागि मात्र नभई सामूहिक निर्णय र डेलिभरीका लागि हुनुपर्नेमा जोड दिए । उनले राजनीति व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि सेवा र जिम्मेवारीको क्षेत्र भएको बताए ।
यसैबीच, अधिवक्ता यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । उनले आफूलाई पार्टी सदस्यहरूले नै उक्त पदका लागि सिफारिस गरेको दाबी गर्दै प्रारम्भिक चरणमा खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने र त्यसपछि पदाधिकारी तहमा अघि बढ्ने योजना रहेको बताए ।
न्यौपानेले पदभन्दा पनि काम गर्ने प्लेटफर्म महत्वपूर्ण भएको उल्लेख गर्दै पार्टी नीति निर्माण, कानुन र संविधान संशोधनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने र सदस्यहरूको विश्वास जित्नु नै प्रमुख लक्ष्य भएको बताए ।
महाधिवेशनमा उम्मेदवारी घोषणासँगै रास्वपाभित्र नेतृत्व चयन प्रक्रिया औपचारिक प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरेको छ ।










