मुलुकका ७ ठाउँमा बाटो अबरूद्द, खुलाउने प्रयास जारी

everest kitchen

काठमाडौं, २१ असार । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण बाटो अबरूद्द भएको छ ।

मुलकका ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी समस्या देखिएको छ। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ, खुलाउने प्रयास जारी रहेको प्रहरीको दावी छ ।

गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा रहेको सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ।

लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारु गरिएको छ भने कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।