एउटै कसुर : शर्मालाई तारेख, अन्यलाई थुनामा

everest kitchen

काठमाण्डौ । एउटै कसुरमा अदालतले व्यक्तिअनुसार फरक–फरक आदेश दिएको छ । एमबिबिएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ परेका चिकित्सकलाई प्रहरीले शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरेकोमा सांसदसमेत रहेका सुनील शर्मालाई तारेखमा राख्न र अन्यलाई थुनामा राख्न आदेश दिएको छ ।

भागी जाने र प्रमाण नष्ट गर्ने सम्भावना नभएको भन्दै अदालतले शर्मालाई तारेखमा राखेर अनुसन्धान गर्न भनेको हो । तर, उनीसँगै पक्राउ परेका अन्य चिकित्सक अमित चौधरी, मनित चौधरी, एरिना साह, रञ्जितकुमार यादव र श्रद्धा सिल्पकारलाई भने थुनामै राख्न अनुमति दिएको छ ।

सबैमाथि समान कसुर रहे पनि कसैलाई थुनामा राख्ने तथा कसैलाई तारेखमा राख्न अदालतले दिएको आदेशले प्रहरी अधिकारी अन्योलमा परेका छन् ।

न्यायाधीश दण्डपाणि शर्माको इजलासले दिएको आदेशमा शर्मा प्रतिनिधिसभा सदस्य रहेको र अनुसन्धानका लागि हिरासतमै राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख छ ।