भदौमै पाक्न थाल्यो स्याङ्जाका सुन्तला

everest kitchen

गल्याङ (स्याङ्जा) । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उनले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आएका छन् ।

सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिए । “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उनले भने, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।”