एनआरएनए ११ औं सम्मेलन: ५९ देशका ४ हजार २ सय २७ जनाले मतदान गर्दै

everest kitchen

काठमाडौं । नेपालमा बिहीबारदेखि तथा विदेशमा रहेका नेपालीहरूका लागि भने बुधबार रातिबाटै २४ घण्टाका लागि पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ भईरहेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि नेपालमा बिहीबार मतदान हुँदै छ । विदेशमा रहेका नेपालीकाहरूका लागि भने बुधबार रातिबाटै अनलाइन भोटिङ खुला गरिएको छ । जसले मतदानको समय सुरु भएदेखि चौबिस घण्टाभित्र मतदान गरिसक्नुपर्नेछ ।

नयाँ नेतृत्वका लागि ५९ देशका ४ हजार २ सय २७ जनाले मतदान गर्दैछन् । नेपालमा उपस्थित भएका प्रतिनिधिहरूले भने बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेभित्र मतदान गरिसक्नुपर्नेछ । ५९ देशमा रहेका महाधिवेशन प्रतिनिधिहरूले अनलाइनबाट मतदान गर्न पाउने छन् । निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार २ सय २७ छ । जसमध्ये बुधबारसम्म ९ सय हाराहारी प्रतिनिधि मतदानका लागि नेपाल आइपुगेका छन् ।

 

उनीहरूले निर्वाचन समितिले तोकेको नियमअनुसार मतदान गर्नेछन् । एनआरएनएका अनुसार संघको इतिहासमै पहिलो पटक ‘फेसियल भेरिफिकेसन’ मार्फत अनलाइन भोटिङ हुन लागेको हो ।

 

११ औं विश्व सम्मेलनमा सहभागी हुनका लागि नेपाल आइपुगेका मतदाताले भने सोल्टी होटल परिसरमा व्यवस्थापन गरिएको मतदान केन्द्रबाट मतदान गर्नुपर्नेछ ।

अनलाइन भोटिङ हुने भएकाले मतदानका लागि २० वटा ल्यापटपको व्यवस्था गरिएको छ । निर्वाचन समितिले व्यवस्थापन गरेको ल्यापटपबाहेक अन्य मोबाइल तथा डिभाइसबाट मतदान गर्न नपाइने प्रमुख निर्वाचन अधिकृत यादव ढुंगानाले बताए । उनका अनुसार तोकिएको निर्वाचन केन्द्रभन्दा बाहिर गएर मतदान गर्न पाइने छैन । ७४ पदमा नयाँ नेतृत्व चयन हुनेछ । ७४ पदमध्ये १० वटा पदमा उम्मेदवारी नै परेको छैन । उम्मेदवारी नपर्ने अधिकांश अफ्रिकन मूलका देशहरू रहेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार त्यस्तै विभिन्न पदमा २३ जना निर्विरोध निर्वाचित भएका छन् । अब ४१ पदका लागि ९७ जनाको उम्मेदवारी कायम छ ।

‘अनलाइन भोटिङ हुने भएकाले रिजल्ट आउन धेरै समय लाग्ने छैन, सम्भव भएसम्म बिहीबार राति नै र नभए शुक्रबार बिहानसम्म रिजल्ट आइसक्नेछ ।

अध्यक्ष पदका चार प्रत्यासीमा बद्री केसी, महेश श्रेष्ठ र आरके राजेन्द्रकुमार शर्मा रहेका छन् ।  ६ उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षका लागि दुई र युवा उपाध्यक्षका लागि पनि दुई जनाकै उम्मेदवारी कायम छ । महासचिवका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । उपमहासचिव दुई पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।

सचिव ६ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिवका लागि दुई जनाको उम्मेदवारी परेको छ । यसैगरी कोषाध्यक्षका लागि दुई जनाको उम्मेदवारी कायम छ । सहकोषाध्यक्षका तीन पदमा ६, महिला सहकोषाध्यक्षमा २, महिला संयोजकमा २ र युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ ।