रुकुम पश्चिममा आज बिदा, पहिलो चरणको उद्धार सकियो, राहत वितरण थालिँदै

everest kitchen

 

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिईएको छ ।

साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट मानवीय एवं भौतिक संरचनामा पनि क्षति पुर्याएकाले आठबीसकोट नगरपालिकाले सार्वजनिक विदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताए ।

उनले कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरबासीलाई अनुरोध समेत गरे । भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले जानकारी दिए ।

तत्कालका लागि मृतकका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उपप्रमुख धनकुमारी शाहीको संयोजकमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिए । नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, सङ्घसंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ भने सात जनाको प्रादेशिक अस्पताल सुर्खेत र ९५ जनाको नगर अस्पताल राडीम उपचार भइरहेको नगरप्रमुख केसीले जानकारी दिए। पहिलो चरणको उद्धार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ ।रासस